आकांक्षीहरुको संख्या धेरै भएपछि एकीकृत नेकपा माओवादीले महाधिवेशन आयोजक समिति जम्बो बनाउने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहीवार बसेको महाविधेशन आयोजक समितिको वैठकले समिति बिस्तार गरि २ सय ५१ सदस्यीय बनाउने निर्णय गरेको हो ।
यसअघि १ सय ७५ सदस्यीय आयोजक समिति बनाउने प्रस्ताव गरेपनि नेताहरुले आफ्नो क्षेत्रको नपरेको तथा वरिष्ठलाई नसमेटेको भन्दै असन्तुष्टि जनाएका थिए । सबै पक्षलाई समेट्नु पर्ने भएकाले आयोजक समिति जम्बो भएको नेताहरुले बताएका छन् । वैठकपछि संचारकर्मींसँग कुरा गर्दै पार्टी प्रवक्ता दीनानाथ शर्माले समितिमा रहेका नेताहरुको कार्यबिभाजन भने हुन नसकेको जानकारी दिनुभयो । २ सय ५१ मध्ये २ सय ३१ को टुंगो लागे पनि २० सदस्य टुंगो लाग्न बाँकी रहेकाले उनीहरुको नाम शनिवार बस्ने बैठकले थप्ने सहमति भएको बताइएको छ ।
हालै सम्पन्न विस्तारित वैठकले आगामी माघमा महाधिवेशन गर्ने निर्णय गर्दै केन्द्रीय समितिलाई बिघटन गरि महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको थियो । त्यतिबेला केन्द्रीय सदस्यलाई नै आयोजक समिति सदस्य बनाउने र समानुपातिक प्रतिनिधित्वका लागि केही सदस्य थप्ने सहमति भएपनि नेताहरुले आ-आफ्ना मान्छे पर्नुपर्ने अडान राखेपछि समिति जम्बो बनेको बताइएको छ ।
प्रचण्डले बुधबार १ सय ७५ सदस्यको प्रस्ताव गरेपनि उनकै निकट सहयोगीहरुले समेत त्यसमा बिरोध गरेपछि सदस्य थप्न प्रचण्ड बाध्य भएको बताइएको छ ।