एकीकृत नेकपा माओवादीको महाधिवेशन आगामी माघ १४ गते हुने भएको छ ।
महाधिवेशन आयोजक समितिको शनिबार बसेको बैठकले झण्डै दुई दशकदेखि हुन नसकेको महाधिवेशन माघ १४ गतेबाट गर्ने निर्णय गरेको हो । बैठकले नेताहरुको जिम्मेबारी हेरफेर गरेको छ भने अध्यक्ष प्रचण्डका लागि निवास तय गर्ने जिम्मा केन्द्रीय कार्यालयलाई दिएको हो ।
प्रचण्डले सातौं विस्तारित बैठकमा लाजिम्पाटस्थित निबास छाड्ने घोषणा गर्नु भएको थियो । बैठकले पार्टी प्रवक्ताको जिम्मा अग्नि सापकोटालाई दिएको छ ।
बैठकले नेताहरुको जिम्मेबारी हेरफेर गरेको छ । पार्टी प्रवक्तामा दिनानाथ शर्मालाई हटाएर अध्यक्ष प्रचण्ड निकटका अग्नि सापकोटालाई ल्याइएको छ । कृष्णबहादुर महराले हेर्दै आएको विदेश विभागमा राम कार्कीलाई ल्याइएको छ । शर्मालाई बुद्धिजिवी बिभाग र महरालाई संगठन बिभाग तथा विशेष व्यूरोको जिम्मा दिइएको छ । नेवाः र ताम्सालिङलाई बिशेष ब्युरो मानिन्छ । जनवर्गीय संगठनहरुको मोर्चामा जर्नादन शर्मा प्रभाकर, युवा तथा पूर्व लडाकूहरुको मोर्चामा नन्दकिशोर पुन पासाङ र खेलकुद तथा उद्योग मोर्चा टोपबहादुर रायमाझीलाई ल्याइएको छ ।
गिरिराजमणि पोखरेललाई पूर्वी ब्युरो, लिलामणि पोखरेललाई पश्चिम ब्युरो, शक्ति बस्नेत, सुदूरपश्चिम ब्युरो र हरिवोल गजुरेललाई मधेसको इन्चार्ज बनाइएको छ भने हितराज पाण्डेलाई केन्द्रीय कार्यालय सचिवमा ल्याइएको छ । अमिक शेरचनलाई वार्ता समिति संयोजक तथा छानविन आयोग संयोजक बनाइएको छ ।
यस्तै देवेन्द्र पौडेललाई नेवा, विश्वभत्त दुलाललाई ताम्सालिङ, विश्वनाथ भोजपुरा, गोपाल किराँतीलाई कोचिला, भिमप्रसाद गौतमलाई मिथिला, चन्द्रप्रकाश खनाललाई अवध, हेमन्तप्रकाश ओलीलाई लिम्बुवान, लोकेन्द्र बिष्टलाई मगरात, डिलाराम आचार्यलाई तमुवान, लीलबहादुर थापा किराँत, लेखराज भट्टलाई भेरी-कर्णाली, गिरिधारी न्यैपानेलाई सेती महाकाली र थारुवानमा नवराज सुवेदीलाई ल्याइएको छ । यस्तै निनु चापागाईलाई सांस्कृतिक र स्वानाम साथीलाई स्कुलिङ र हिसिला यमीलाई महिलाको इन्चार्जका साथै नेवा राज्य समितिको सहइन्चार्ज बनाइएको छ । तत्कालिन पोलिटव्युरो सदस्य रहेकाहरुलाई मात्र इन्चार्जको जिम्मेबारी दिएपछि मधेसी नेताहरु भने इन्चार्जमा परेनन् । प्रभु साह, रामकुमार शर्मा लगायतका मधेसी नेताहरुले मधेसको प्रतिनिधित्व नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।
प्रचण्ड निकट मानिएका कृष्णबहादुर महरालाई यसअघि महासचिवले हेर्दै आएको संगठन बिभाग दिइएको छ भने प्रचण्डकै निकट मानिने हरिवोल, अग्नि र प्रभाकरलाई स्थायी समिति सदस्य बराबरको हैसियतमा महत्वपूर्ण जिम्मेवारी दिइएको छ ।
प्रचण्डले एक दुई दिनभित्रै सचिवालयको संरचना फेरबदल गरि नयाँ सदस्य राख्ने पार्टी कार्यालयले नै प्रचण्डका लागि नयाँ घर खोज्ने बताइएको छ । बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको सचिवालयका सदस्य पनि फेरिने बताइएको छ ।
यसै बिच
नेवि संघमा देउवा पक्षले समानान्तर संगठन बनाउने/पुस १६ गते महाधिवेशन गर्ने घोषणा
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा समानान्तर संगठन बनाउने भएको छ ।
संस्थापन पक्षले एकलौटी निर्णय गर्दै महाधिवेशनको मिति घोषणा गरेको भन्दै नेवि संघमा रहेका देउवा पक्षीय ४८ केन्द्रीय सदस्यहरुले केन्द्रदेखि तल्लो तहसम्म छुट्टै महाधिवेशन गर्ने घोषणा गरेका छन् ।
असन्तुष्ट पक्षले भदौ १५ गते साधारण सदस्यता वितरण, विधान तथा नियमावलीको आवश्यक संशोधन गर्ने, भदौ मसान्तसम्म अञ्चलस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने, असोज १५ गते २४० वटा निर्वाचन क्षेत्रमा क्षेत्रीय भेला गर्ने कार्यक्रम पनि सार्वजनिक गरिएको छ । यस्तै असोज मसान्तसम्म मुलुकभरका क्याम्पसमा अधिवेशन सम्पन्न गरी प्रतिनिधिहरु निर्वाचित गरिने, कात्तिक मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गरी प्रतिनिधिहरु निर्वाचित गरिने, मंसिर १५ सम्म उपत्यकाका क्याम्पसमा अधिवेशन सम्पन्न गर्ने कार्यक्रम राखिएको छ ।
असन्तुष्ट पक्षले मंसिर मसान्तभित्रै महाधिवेशन प्रतिनिधिहरुको नामावली केन्द्रीय कार्यालयबाट प्रकाशित गर्ने र राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर पुस १६, १७ र १८ गते वीरगञ्जमा राष्ट्रिय महाधिवेशन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । संस्थापन पक्षले आगामी पुस २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने घोषणा गरेको थियो ।
पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य ऋषिकेशजंग शाहले पार्टीका शीर्ष नेताहरुको सहमतिपछि पनि अध्यक्ष रन्जित कर्णले संघलाई मनोमानी ढङ्गले अगाडि बढाउने दुष्प्रयास गरिरहेको आरोप लगाउनु भयो ।