अमेरिकाको विस्कन्सीन राज्यको ओकक्रीक शहरस्थित एक गुरुद्वारामा गोली हानाहान हुँदा सात जना मारिएका छन् । प्रहरीका अनुसार चार जनालाई गुरुद्वारा भित्रै र तीन जनालाई बाहिर पार्किङमा मृत अवस्थामा फेला पारिएको थियो ।
मारिनेमा गोली हान्ने व्यक्तिसमेत रहेको बताइएको छ । घटनामा एक प्रहरी अधिकृतसहित निकै जना घाइते भएको खबर छ । घाइतेहरुलाई अस्पताल लगिएको छ ।
घाइते भई अस्पताल पु-याईकामा गुरुद्वाराका अध्यक्षसमेत छन् । गुरुद्वारालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । निकै व्यक्ति गुरुद्वाराभित्रै रहेका छन् । स्थानीयसमय अनुसार आइतवार विहान सवा दश बजेतिर गुरुद्वारामा मानिसको बाक्लो उपस्थिति हुनेवित्तिकै गोली चलाइएको थियो ।
त्यहाँ भारतबाट गएका कुनै नेताले भाषण दिने कार्यक्रम रहेको पनि जनाइएको छ । आक्रमण सुनियोजित रहेको घाइतेले बताएका छन् । सन् १९८० मा निर्मित उक्त गुरुद्वारामा विदाका दिन सयौं मानिस भेला हुने गरेका थिए ।
दुई साता अघि मात्रै पनि कोलोराडोको सिनेमा हलमा यस्तै आक्रमण हुँदा १२ जना मारिएका थिए ।