पृथ्वी नारायण शाहले एकिकरण गर्नेक्रममा आजको दिन अर्थात साउन २२ गते तत्कालिन लिम्बुवान राज्य खोसेको विरोध स्वरुप यसलाई कालो दिनको रुपमा लिइने गरिएको परिषदका केन्द्रीय सचिव विष्णु थामदेनले जानकारी दिए । परिषदले अरुण पुर्वका धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङ बन्द आव्हान गरेको जनाएको छ ।
बन्दका कारण यातायात, बजार, पसल, कलकारखाना, शिक्षण संस्थाहरु आंशिक प्रभावित भएका छन् । कोसी राजमार्गको धरान धनकुटामा यातायात प्रभावित रहेको छ । परिषदको बन्दलाई संयुक्त लिम्बुवान मोर्चाले समेत नैतिक समर्थन जनाएको छ ।
इलाम । बन्दका कारण मेचीराजमार्ग र ग्रामीण सडकमा मोटर चलेको छैन । सदरमुकाम लगायतका व्यपारिक केन्द्रका फाटफुट पसलमात्र खुलेका छन् । बन्दको प्रभाव मेचीका अन्य पहाडी जिल्लामा पनि परेको छ । संविधान सभा भंग भएपछि पूर्वमा पहिलो पटक बन्द आव्हान गरिएको हो ।
काँकडभिट्टा । वि.स. १८३१ मा तत्कालीन राजा पृथ्वीनारायण शाहले आजकै दिन स्वतन्त्र लिम्वुवान राज्यविरुद्ध सम्झौता गरेको कारण त्यस दिनको सम्झना गर्दै शान्तिपूर्ण बन्द आव्हान गरिएको लिम्वुवान नेता धनध्वज लिम्वुले जानकारी दिए । लिम्वुका अनुसार पार्टीले २०६६ सालदेखि साउन २२ लाई कालो दिनको रुपमा मनाउदै आएको छ । बन्दका कारण पूर्वको यातायात ठप्प छ । शैक्षिक संस्थाहरुमा आंशिक प्रभाव परेको छ ।
तेह्रथुम-बन्दका कारण जिल्लाको जनजीवन विहानै देखी प्रभावित भएको छ । वन्दका कारण जिल्ला भित्र कुनै यातायातका साधन संचालन हुन सकेका छैनन् । बिना जानकारी एक्कासी वन्द आह्वान गरिएकाले पुर्वका धरान, झापा तथा विराटनगर तर्फ हिंडेका सयौं यात्रीहरु विच वाटैमा रोकिएका छन् ।