काठमाडौं – मुलुकभर कृष्णमन्दिरमा श्रीकृष्णको पूजा, भजनकीर्तन र आराधना गर्दै बिहीबार श्रीकृष्ण जन्माष्टमी मनाइँदैछ ।
वासुदेव श्रीकृष्णको जन्म द्वापरयुगको अन्ततिर रोहणी नक्षत्रयुक्त भाद्रकृष्ण अष्टमीको मध्यरातमा मथुराको एक कारागारमा कंसकी बहिनी देवकीको कोखबाट भएको हो । यो रातलाई मोहरात्रि भनिन्छ ।
यस दिन ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिरमा ठूलो मेला लाग्नेछ । राधा र कृष्णको मूर्ति स्थापना गरी २१ गजूरले सिंगारी ढुंगामात्र प्रयोग गरी निर्माण गरिएको उक्त मन्दिरको अगाडि अग्लो खम्बा ठड्याई त्यसमाथि सुनको गरुड स्थापना गरिएको छ । उक्त मन्दिर ललितपुरका तत्कालीन राजा सिद्धिनरसिंह मल्लले नेपाल संवत् ७५० मा निर्माण थालेर ७५७ फागुनमा पूरा गरेको इतिहासमा उल्लेख छ ।