अल्जेरीयाका कुटनीतिज्ञ लख्दर ब्राहीमी सिरीयाको लागि संयुक्त राष्ट्रसंघ र अरब लिगका विशेष दुतमा नियुक्त

अल्जेरीयाका कुटनीतिज्ञ लख्दर ब्राहीमी सिरीयाको लागि संयुक्त राष्ट्रसंघ र अरब लिगका विशेष दुत नियुक्त हुने संभावना बढेको छ । राष्ट्रसंघका पुर्व महासचिव कोफी अन्नानले सिरिया मिशनबाट अघिल्लो हप्ता हात झिकेपछि ब्राहिमिको संभावना बढेको कुटनीतिज्ञहरुले बताएका छन् ।


 सिरियामा युद्धविराम गराउने आफ्नो ६ वुँदे प्रस्ताव खेर गएपछि विशेष दुत अन्नानले पदबाट राजिनामा दिनुभएको थियो । अन्नानको राजिनामासँगै सिरियामा राष्ट्रसंघ र विश्व समुदायको रणनीतिक उपस्थिती जोगाउने पद विशेष दुतको लागि नयाँ उम्मेदवारको खोजी सुरु भएको थियो ।


 ७८ वर्षिय अल्जेरीयन कुटनीतिज्ञ ब्रहिमिले तिन दशकभन्दा लामो समय अन्तराष्ट्रिय रुपमा शान्ती स्थापनार्थ विभिन्न काम गरिसक्नुभएको छ । सन् १९८४ देखी ९१ सम्म अरब लिगका उच्च अधिकारी भएर काम गर्नुभएका ब्राहिमिले लेबनानको गृहयुद्ध अन्त्य गर्न मध्यस्थकर्ताको भुमिका निभाउनुभएको थियो ।


अल्जेरीयाका पुर्व विदेशमन्त्री समेत रहनुभएका ब्राहिमिले अफगानिस्तान, हैटी र दक्षिण अफ्रिकामा पनि राष्ट्रसंघको विशेष दुतको रुपमा काम गरिसक्नुभएको छ ।