काठमाण्डौं । सरकारविरुद्ध आन्दोलनरत विपक्षी दल सम्वद्ध ९ युवा तथा विद्यार्थी संगठनले आज मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरवार प्रवेश गर्ने मुख्य नाकामा धर्ना दिएका छन् । प्रधानमन्त्री र मन्त्रीहरुलाई सिंहदरवार प्रवेश गर्न नदिने भन्दै युवा तथा विद्यार्थी संगठनहरुले घेराउ गरेका हुन् ।
सिंहदरबार प्रवेशको मुख्य गेटमा धर्ना दिने कार्यक्रम भएपनि सुरक्षाकर्मीले धर्नाकारीलाई मुख्य नाकामै रोकेका थिए । सुरक्षाकर्मीले अगाडि बढ्न नदिएपछि धर्नाकारीहरुले पुतलीसडकको पद्यमोदय मोड, माइतिघर मण्डला,बवरमहल, भद्रकाली र हनुमान थानमा घेराउ गरेका थिए । उनीहरुले प्रधानमन्त्री र सरकारविरुद्ध उश्रंखल र चर्को नाराबाजि गरेका थिए ।
भट्टराई सरकार हट्नु पर्ने, राष्ट्रिय स्वाधिनताको रक्षा गर्नु पर्नेललगायतकामा माग उनीहरुले राखेका छन् । विपक्षीले सिंहदरवार घेराउ गर्ने भएपछि विहानैबाट त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
सरकारले आफ्ना माग प्रति वेवस्ता गरे सशक्त आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् । धर्ना र घेराउका कारण त्यस क्षेत्रको यातायात प्रभावित भएको थियो ।
– RSS