चितवनका उच्चमाध्यमिक विद्यालयमा छात्राले लगाउने स्कर्ट छोटो भएको अनुगमन टोलीले ठहर

चितवन  – चितवनका उच्चमाध्यमिक विद्यालयमा छात्राले लगाउने स्कर्ट छोटो भएको अनुगमन टोलीले ठहर गरेको छ। केन्द्रबाट आएको अनुगमन टोलीले छात्राको स्कर्ट छोटो पाइएकाले लामो बनाउनसम्बन्धित कलेजलाई सुझाव दिएको छ। उच्चमावि शिक्षा परिषद्का उपसचिव डम्बर बतासको नेतृत्वमा आएको टोलीले बुधबार र बिहीबार यहाँका उच्चमाविको अनुगमन गरेको थियो। 


 
टोलीले छोटो स्कर्ट लगाउनेलाई नियन्त्रण गर्न भनेको चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिए। छात्राहरूले घुँडाभन्दा माथि स्कर्ट लगाएको पाइएको र यसले विद्यार्थीमा विकृति फैलने भएकाले आफूहरूले यसलाई नियन्त्रण गर्ने शर्माले बताए।


टोलीले टाँडीको इन्टरनेसनल कलेज, वाल्मीकि शिक्षा सदन, अर्किट साइन्स कलेजलगायतका कलेजको अनुगमन गरेको थियो।


उच्चमाविको भौतिक अवस्था, शौचालय, ल्याब, पुस्तकालय, खाजाघर सुविधायुक्त र सफा नभएको टोलीले अनुगमनमा फेला पारेको छ। कक्षाकोठामा बढी विद्यार्थी राख्ने, आन्तरिक परीक्षामा लापर्वाही गर्नेजस्ता कमजोरी चर्चित कलेजमै पाइएको जिल्ला शिक्षा अधिकारी शर्माले बताए।


निजी उच्चमाविमा भौतिक पूर्वाधारलगायत विभिन्न विषयमा प्रश्न उठेपछि उच्चमावि शिक्षा परिषद्ले अनुगनम टोली पठाएको हो। रासस