रिपब्लिकन उम्मेदबार मिट रोमनीद्धारा पाउल डि रायनलाई उपराष्ट्रपति पदका लागि मनोनयन

दिनेशजंग शाह

 

न्युयोर्क  – आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा आर्थिक मुद्दा प्रमुख रहेको परिदृश्यमा रिपब्लिकन उम्मेदबार मिट रोमनीले एक परम्परागत आर्थिक मुद्वाका जानिफकारलाई आफ्नो निर्वाचन दौडको सहयात्री चुनेका छन् ।

शनिबार बिहान भर्जिनिया राज्यको नोरफोकमा रोमनीले एक समारोहका बीच विस्कन्सिन राज्यबाट कंग्रेसम्यान रहेका पाउल डि रायनलाई उपराष्ट्रपति पदका लागि मनोनयन गरेका छन् । अमेरिकी राजनितीक बिश्लेषकहरुले रायनको मनोनयनलाई रोमनीको चुनावी अभियानको महत्वपूर्ण कदम मानेका छन् । यसले फेरि एकपटक आगामी निर्वाचनमा केन्द्रीय सरकारको भुमिका र आकारलाई प्रमुख विवादको रुपमा निम्त्याएको छ । रायनले पछिल्ला बर्षहरुमा मेडिकेयर लगायतका बिषयहरुमा ओबामाको आर्थिक नीतिविरुद्व छुट्टै प्रस्ताव गर्दै आएका छन् । चार बर्ष अघि तत्कालीन रिपब्लिकन उम्मेद्‍वार जोन म्याकेनले आफनो चुनावी सहयात्रीको रुपमा सेरा पालिनको मनोनयनले नकारात्मक प्रभाव पारेको पृष्ठभूमिमा रोमनीको चयनलाई महत्त्व दिइएको थियो ।

विगत १३ बर्षदेखि लगातार अमेरिकी कंग्रेसमा प्रतिनिधित्व गर्दै आएका ४२ वर्षीय रायन रिपब्लिकन पार्टीका उदयमान ब्यक्तित्व हुन् । कंग्रेसमा आर्थिक बजेट कमिटीका सभापति रहेका रायन रिपब्लिकन पार्टीका अनुदार आर्थिक नीतिकार मानिन्छन् । रिपब्लिकन पार्टीको कर कटौती र केन्द्रीय सरकारको खर्च कटौती सम्बन्धी मुख्य रणनितीकार मानिने रायनको मनोनयनले आगामी नोभेम्बरको निर्वाचनमा ओबामाको आर्थिक निती माथिको प्रहार अझै शसक्त हुने रिपब्लिकन रणनितीकारहरुको दाबी छ ।

अपेक्षाकृत आर्थिक मुद्वाहरु विशेषत रोजगारी सिर्जनामा खासै सफलता हात पार्न नसकिरहेको ओबामा प्रशासनका लागि रायन बिगत दुई बर्षयता भारी बन्दै आएका छन् । सन २०१० को मध्यावधि निर्वाचनमा तल्लो सदन ”हाउस अफ रिप्रेन्जेन्टिभस्’ मा रिपब्लिकन पार्टीले बहुमत हात पारेपछि रायनको नेतृत्वमा रिपब्लिकन कंग्रेसम्यानहरुको चर्को अवरोधका कारण धेरै आर्थिक मुद्वाहरुमा ओबामा प्रशासन बाँधिन बाध्य भएको थियो ।

रोमनी भन्दा २३ बर्ष कान्छा रायन, यसअघि सन २०१२ मा रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय पदमा सम्भावित उम्मेदवारको रुपमा चर्चा गरिएको थियो । कुनै खाले सैनिक सेवा एवम विदेश नीति सम्बन्धी दख्खल नभएका रायनको मनोनयनले आगामी निर्वाचनमा आर्थिक मुद्वाहरुको प्राथमिकतालाई प्रष्टाएको छ ।