एकीकृत नेकपा माओवादीले लम्बिंदो राजनीतिक संकटबाट पार लगाउन गैर राजनीतिक स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाउने नयाँ विकल्पको निम्ति तयार भएको जनाएको छ।
भावी संविधानमा सहमति नजुट्दासम्म नेपाली कांग्रेसलाई सरकारको नेतृत्व नदिने पार्टी अध्यक्ष प्रचण्डको शनिबारको भनाइप्रति कांग्रेस र एमालेले कडा असन्तुष्टि जनाएसँगै माओवादीबाट उक्त विकल्प सारिएको हो।
प्रमुख दलबीच जुहारी र आक्षेप चर्किदै जाँदा राजनीतिक संकटको अवधि पनि लम्बिंदो छ।
त्यसो हुँदा देश थप संकटमा पर्ने भएकाले आफ्नो पार्टी नयाँ विकल्पमा तयार भएको माओवादी प्रवक्ता अग्नि सापकोटाले बताए।
उनले भने, “दलहरुबीच सहमति हुनै नसक्ने हो भने पार्टी बाहिरका स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावमा जाने विकल्पमा पनि हामी तयार भएका छौं।”
पार्टी फोडेर गएका आफ्ना भूतपूर्व सहयात्रीको राजनीतिक निम्तालुको रुपमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले विपक्षी कांग्रेसलाई चिढाउने काम गरेका थिए।
कांग्रेस सभापति सुशील कोइरालाले त्यसको जवाफ प्रचण्डकै गृह जिल्ला चितवन पुगेर एउटा कार्यक्रम मार्फत दिएका छन्।
उनले भने, “लाग्छ, प्रचण्डले आफूलाई सिंगो देशको र सबै पार्टीको ठेकेदारै भन्ठान्नु भएको छ।”
सत्तारुढ दलको नेताको हैसियतले प्रचण्डले राजनीतिक सहमति खोज्न विश्वासमा लिनु पर्ने विपक्षीहरुलाई बिच्काउने काम किन गरे त?
प्रचण्ड निकट प्रवक्ता सापकोटाको बुझाई फरक छ।
उनले भने, “संविधानका मुद्दामा सहमति हुने हो भने त कांग्रेसको नेतृत्वमा सरकार बनाउने नै सबैभन्दा राम्रो विकल्प हो, तर कुरै मिल्दैन भने सरकार मात्र उसलाई दिन सकिन्न भनेको हो।”
राष्ट्रपतिलाई गैर राजनीतिक भनिएको व्यक्ति छान्ने जिम्मा लगाउन दलहरु तयार भए भिन्नै कुरा अन्यथा उनीहरुले सर्वसम्मत व्यक्ति रोज्न सक्लान् भन्ने कमैलाई पत्यार छ।
पछिल्ला वर्षहरुमा आफूप्रतिको मोह भंग हुँदै गएको देखिएको नागरिक समाजको विश्वास जगेर्ना गर्ने नयाँ काइदाको रुपमा माओवादीले उक्त विकल्प राजनीतिक बजारमा फ्याँकेको विश्लेषण पनि कतिपयको पाइन्छ।
– RSS, BBC