सिरियामा विद्रोहीहरुले सरकारको लडाकु जेट विमान खसालेको र पाईलटलाई जिवितै नियन्त्रणमा लिएको दावी

काठमाडौं । सिरियामा ईराकको सीमा नजिक सिरिया सरकारको लडाकु विमान खसालिएको छ । विद्रोहीहरुले आफुहरुले सिरिया सरकारको लडाकु जेट विमान खसालेको र त्यसका पाईलटलाई जिवितै नियन्त्रणमा लिएको दावी गरेका छन् ।

सिरिया सरकारले भने प्राविधिक खरावीले आफ्नो विमान पूर्व भागमा खसेको जनाएको छ । विद्रोहीहरुले एक पाका उमेरका ब्यक्तिलाई देखाउंदै उनी खसालिएको विमानका पाईलट रहेको दावी गरेको छ ।

दुई जना पाईलट रहेकोमा एकजनाको मृत्यु भएको विद्रोही फ्रि सिरियन आर्मीको भनाई छ । सरकारले भने खसेको विमानको खोजी भईरहेको बताएको छ ।

 

उता अरब लीगबाट सिरियालाई निलम्बन गर्ने प्रस्तावमा ईरानले कडा आपत्ति जनाएको छ । सिरियामा संकट गहिरिदै गएको बेला इरानले राष्ट्रपति असादलाई समर्थन गर्ने स्पष्ट पारिसकेको छ ।