अमेरिकी सेनाले हालै प्रशान्त महासागरमा परीक्षण गरेको हाइपरसोनिक मानवरहित जेट वेबराइडर विमान असफल

अमेरिकी सेनाले हालै प्रशान्त महासागरमा परीक्षण गरेको हाइपरसोनिक मानवरहित जेट वेबराइडर विमान असफल भएको छ । प्रतिघण्टा ५ हजार सात सय ९५ किलोमिटरको गतिमा उडान भर्ने उद्देश्यका साथ परीक्षण गरिएको उक्त विमानको पंखाले काम गर्न छोडेपछि दुर्घटना भई समुद्रमा खसेको हो । अमेरिकी वायुसेनाका अनुसार उडान भरेको केही सेकेन्डमा नै विमान दुर्घटनाग्रस्त भएको हो ।

 

वेबराइडरले आफनो पहिलो परीक्षण उडान सन् २०११ मा भरेको थियो तर त्यतिबेला लक्ष्य अनुसारको गति लिन नसकी दुर्घटना भएपछि यो दोश्रो पटक परीक्षण गरिएको हो । वेबराइडर परियोजना हाइपोरसोनिक विमान विकास परियोजनाअन्तर्गतको एक हो ।

 

यस अनुसन्धानको मद्दतबाट अहिलेको तुलनामा अत्यन्त तीब्र गतिमा उडान भर्न सकिने यात्रुवाहक विमानको विकास गर्नु रहेको अमेरिकी वायुसेनाको भनाइ छ । वेबराइडर अमेरिकी सेनाले बी ५२ बमबर्षक विमानको मद्दतले क्यालिफोर्नियास्थित एड्वड्स अड्डाबाट परीक्षण गरिएको थियो । विमानको लम्बाई ८ मिटर थियो । परीक्षणमा इन्जिन चालू भएपछि यसले ७० हजारको उचाइसम्म पुगेर ध्वनिको भन्दा ६ गुणा बढी गति लिन सक्ने अनुमान गरिएको थियो ।