चितवनमा प्रधानमन्त्री भट्टराईलाई कालोझण्डा देखाउने युवा संघका कार्यकर्तामाथि चर्को दमन

Click on the slide!चितवन। चितवन एवम काठमाडौंबाट प्राप्त अनेकौ समाचार अनुसार चितवनको भरतपुरमा प्रधानमन्त्री बाबुराम भट्टराईलाई कालो झण्डा देखाउने क्रममा युवा संघका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा ५ जना युवा घाइते भएका छन् ।

 

चितवनको गाउँमा वास बस्न जानुभएका प्रधानमन्त्री भट्टराइ  काठमाडौं फर्कन लाग्दा युवाहरुले भरतपुर विमानस्थल बाहिर कालो झण्डासहित प्रदर्शन गरेका थिए । झपडमा परी युवा संघका कार्यकर्ता सुरज तिवारीसहित ५ जना घाईते भएका हुन् ।


यसैबीच, कालोझण्डा देखाउने युवाहरु विरुद्ध प्रहरीले चर्को दमन गरेको भन्दै युवा संघले दिनभर चितवन बन्द गरायो । बन्दका कारण चितवनमा दिनभर यातायातका साधन चल्न सकेनन् भने बजार, कलकार्खाना पनि ठप्प रहे ।


बन्दको अबज्ञा गरेको भन्दै युवा संघका कार्यकर्ताले नारायणगढमा एउटा सरकारी गाडी, प्रहरीको एउटा भ्यान, एउटा मिनिबस र एउटा टेम्पो तोडफोड गरेका थिए । बन्दकर्ताले नारायणगढमा भरतपुर कारागारको एउटा मोटरसाइकलमा आगजनी गर्नुका साथै भरतपुरस्थित निलकमल पतञ्जलि आयूर्वेद सेवा केन्द्रमा पनि तोडफोड गरेका थिए ।


प्रहरीको भ्यान तोडफोड गरेको आरोपमा युवा संघका कार्यकर्ता सन्तोष कार्कीलाई नियन्त्रणमा लिएको थियो । बन्दका क्रममा युवा संघका कार्यकर्ताले यातायात ब्यबसायीबीच तनाव उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरेको थियो ।बन्द सफल बनाउन भन्दै युवासंघका कार्यकर्ता शहरका चोक चोकमा खटिएका थिए ।

युवा संघले  कार्यकर्तामाथि दमन गर्ने प्रहरीले माफी नमागे सम्म बन्द जारी रहने बताएकोमा अपरान्ह ५ बजे प्रहरीले नियन्त्रणमा लिएका युवाहरुलाई रिहा गरेपछि ५ बजेपछि बन्द खुलेको छ ।