त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्जमा हुँदै आएको राजनीतिक भागबण्डा रोक्न भन्दै बरिष्ठ डाक्टर गोबिन्द केसीले आमरण अनसन बसेको पाँचौ दिन पुरा भएको छ।
सरकारले डाक्टरहरुको माग सम्बोधन गर्ने प्रक्रिया शुरु भएको जनाएको छ।
डाक्टरहरुले गोबिन्द केसी बचाउ अभियान सहित शनिबार र आइतबार देशव्यापी रुपमा आन्दोलन चर्काउने निर्णय गरेका छन्।
एसियामै नाम कमाएको बताइने महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा गरिँदै आएको राजनीतिक हस्तक्षेपले संस्था नै धराशायी बनेको भन्दै त्यहाँका डाक्टरहरु ६ महिना भन्दा बढि समयदेखि विरोधमा उत्रिँदै आएका छन्।
तर सरकारले उनीहरुको माग पुरा गरेको छैन।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले भने, “प्रक्रिया शुरु भएको छ, एकाध दिन लाग्छ।”
चिकित्सकहरुको पेशागत संस्था नेपाल चिकित्सक संघका अध्यक्ष डा किरण श्रेष्ठले शनिबारदेखि आन्दोलन चर्काउने बताए।
श्रेष्ठले भने, “हामीले शनिबार र आइतबार देशभरका आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने निर्णय गरेका छौं।”
डा केसीले आमरण अनसन शुरु गरेको भोलीपल्ट भागबन्डाका आधारमा नियुक्त गरिएका डीनका बदला अस्पतालका बरिष्ठ डाक्टर प्रकाश सायमीलाई डिन नियुक्त गरिएको चर्चा चलेको थियो।
अनशन स्थलमा उक्त चर्चा पुगेपनि अनशनकारी डा केसी र अन्य डाक्टरहरु लिखित निर्णयको पर्खाइमा थिए।
– RRS,BBC