काठमाडौं – नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुनः प्रधानमन्त्री बन्ने खेलमा लागेको बताएका छन्। संघीय लोकतान्त्रिक गठबन्धन निर्माण गरेर दाहाल त्यस्तो खेलमा लागेको उनले बताए। पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा सञ्चारकर्मीहरूसँग शुक्रबार वैद्यले सत्ता टिकाउन गठबन्धन बनाएको बताए। रिपोर्टस् क्लबले आयोजना गरेको साक्षात्कारमा वैद्यले दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई संघीय पक्षधर नभएको आरोप समेत लगाए।
वैद्यले कांग्रेस र एमालेको नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार बन्न नसक्ने बताए। अग्रगामी, क्रान्तिकारीहरूको नेतृत्वमा सरकार गठन भए आफ्नो पार्टीको समर्थन हुने उनले बताए। सहमतिको सरकार नेतृत्व आफ्नो पार्टीबा दाबी समेत नगर्ने उनले बताए।
‘संघीयताको नाममा गठबन्धन गरेर बाबुराम नेतृत्व सरकारको आयु लम्ब्याउँने र प्रचण्ड अन्तिममा प्रधानमन्त्री बन्ने खेलमा भएको लाग्नु भएको छ। यसले राष्ट्रिय सहमति जुटाउन सक्दैन’, वैद्यले भने। उनले साँच्चिकै क्रान्तिकारी सरकार बन्ने भए आफ्नो पार्टीले नेतृत्व दाबी गर्ने बताए।
‘देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारीको नेतृत्वमा सरकार बने मात्रै मुलुकले निकास पाउँछ। अहिले कांग्रेस, एमाले नेतृत्वमा सरकार सम्भव छैन। साँच्चिकै क्रान्तिकारी सरकार बन्ने भए मात्रै हाम्रो पार्टीले नेतृत्वको दाबी गर्छ’, वैद्यले भने।
पार्टीले सरकार नेतृत्व पाए तपाईं प्रधानमन्त्री बन्नु हुन्छ भन्ने जिज्ञासामा वैद्यले अस्वीकार गरे। ‘कसैलाई प्रधानमन्त्री बनाउन लाग्दिनँ। यही अवस्थामा म बन्ने कुरै हुँदैन। क्रान्ति सम्पन्न गर्न सकियो भने त होला यस्तो कुँडाकर्कटमा म जान्नँ’, उनले भने।
वास्तविक संघीयता पक्षधर आफूहरू भएको औंल्याउँदै दाहाल र भट्टराईले छोडिसकेको बताए। ‘प्रचण्ड र बाबुरामले पहिचान सहितको संघीयता उतिखेर छोडिसक्नु भएको हो। हामीले बहुसंख्यक सभासद्हरूको हस्ताक्षर गराएपछि उनीहरू रातारात पहिचान सहितको संघीयता छौं भनेर उफ्रिए। यस्तो सत्यसत्य हुँदा पनि झुक्काउने काम भएको छ’, उनले भने।
सहमतिका लागि प्रक्रियामा जाने सबै दल जुटनु पर्ने उनले बताए। सहमतिका लागि प्रयास जारी राख्ने उनले बताए। ‘प्रक्रियामा जाने सहमति खोजौं। सहमतिको प्रयाससँगै आन्दोलन गर्ने विकल्प पनि खुला राखेका छौं। यी दुबै प्रक्रियालाई अघि बढाउँछौं’, उनले भने।
पहिचान सहित संघीयता चहाना केही दलका नेताहरू गठबन्धनमा जानु गलत भएको उनले बताए। ‘वास्तविक पहिचान सहितको संघीयता पक्षधर हामी हौं। केही साथीहरू गठबन्धनमा गएका छन्। उहाँहरूलाई भ्रम परेको छ’, उनले भने।
पार्टी पुस २५ देखि महाधिवेशनमा जाने तयारीमा जुटेको उनले बताए। ‘भेलापछि देशभर संगठन निर्माण गरियो। उत्साह जनक छ। हामी अहिले महाधिवेशनबाट मुलुकको निकास र पार्टी जीवनलाई अघि बढाउने अभियानमा छौं’, वैद्यले नागरिकसँग छुट्टै भने।
एकीकृत माओवादीसँग एकताको महाधिवेशनको कुनै सम्भावना नरहेको उनले बताए। महाधिवेशनको सबै तयारी पुरा गर्न पोलिटव्युरो बैठक जारी रहेको वैद्यले बताए। उनले भने- ‘एकताको महाधिवेशन सम्भव छैन।’ बिहिबारको पोलिटव्युरो बैठकले काठमाडौंमा पुस २५ देखि २९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ।
फौजी कार्यदिशा तय गर्ने गरी माओवादीले महाधिवेशनको मिति तय गरेको छ।
पार्टी विभाजन लगत्तै दुई पार्टीले एक महिनाको फरकमा महाधिवेशनको मिति तय गरेका छन्। एकीकृत माओवादीले माघ २५ देखि २९ सम्म महाधिवेशन गर्ने घोषणा गरेको छ। कतियले दुई पार्टीको एकताको महाधिवेशन हुने आकंलन गरे पनि त्यो सम्भावना नरहेको वैद्यले बताए।
तत्काल राजनीतिक निकासका लागि गोलमेचसभा मार्फत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। एकीकृत माओवादी नेतृत्व पंक्तिले ‘जनयुद्ध’को उपलब्धिका रूपमा स्थापना गरिएका जनसत्ता, जन अदालत, जनमुक्ति सेना विघटन गरेको आरोप वैद्यले लगाउँदै आएका छन्।
तात्कालिन एकताकेन्द्र-मसालसँग एकता गरी एकीकृत माओवादी नामाकरण हुँदा पार्टीको पथप्रर्दशक सिद्धान्त मार्क्सवाद, लेनिनवाद, माओवाद/विचारधारा राखिएको थियो। नेकपा-माओवादी गठनको घोषणासँगै माओ विचारधारा हटाएको थियो।
२०५१ सालमा तात्कालिन एकताकेन्द्र विभाजन हुँदा सशस्त्र संघर्ष गर्ने पक्षले माओवाद र सशस्त्र संघर्षमा नजाने नारायणकाजी श्रेष्ठ पक्षधरले माओ विचारधारा मान्नेमा विवाद भएको थियो। ०६५ मा एकता हुँदा एकीकृत माओवादी थप गरी पथप्रर्दशक सिद्धान्तमा माओवाद/विचारधारा जोडिएको थियो।
पार्टी विभाजन हुनुमा एकता प्रक्रियामा आएकाको पार्टीमा हावि भएको आरोप वैद्य पक्षले लगाएको थियो। पार्टी विभानपछि जारी विज्ञप्तिमा एकता प्रक्रियामा आएकाहरूलाई वैद्यले ‘कुडा कर्कट’को उपमा दिएका थिए। वैद्य माओवादीमा एकता प्रक्रियाबाट आएका बाबुराम नेपाली र ओमप्रकाश पुनमात्रै रहेका छन्।
स्रोत – नागरिक