प्रधानमन्त्री भट्टराईद्वारा त्रि.बि. शिक्षण अस्पतालमा बरिष्ठता र योग्यताका आधारमा आजै डीन नियुक्त गर्न शिक्षामन्त्रीलाई निर्देशन

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल कार्यकारी परिषद्लाई बरिष्ठता र योग्यताका आधारमा आजै डीन नियुक्त गर्न शिक्षामन्त्रीलाई निर्देशन दिनुभएको छ ।
शिक्षामन्त्री, उपकुलपति, डीन, रेक्टर, रजिष्टार्ड र मुख्य सचिवसँगको छलफलमा प्रधानमन्त्रीले आजै नजिता आउनेगरि निर्णय गर्न र अनसन बसिरहेका चिकित्सक डा. गोविन्द केसीको अनसन तोड्ने स्थीति बनाउन परिषद्लाई निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
चिकित्साशास्त्र अध्ययन संस्थानको डीन लगायतका पदाधिकारी नियुक्तिमा बरिष्ठतालाई आधार बनाउनुपर्ने र राजनीतिक भागबण्डाका आधारमा कनिष्ठलाई नियुक्त गर्ने प्रकृया रोकिनुपर्ने भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्रीले समस्या समाधानका लागि पहल थाल्नुभएको हो ।
प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार आजै नयाँ डीन नियुक्त गरेपछि अनसन बसिरहनुभएका चिकित्सक डा. केसीले पनि आजै अनसन तोड्ने अपेक्षा गरिएको छ ।
चिकित्सकहरु भने आज र भोली देशभरका स्वास्थ्यसंस्था बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज बिहान गोविन्द केसी बचाउन दबाब दिंदै शिक्षण अस्पतालमा धर्ना पनि दिए ।