रिमसँग पुनः सम्बन्ध जोड्ने तयारीमा एकीकृत माओवादी

सत्तारुढ एकीकृत माओवादीले कम्युनिस्टहरूको क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) सँग बिग्रिएको सम्बन्ध पुनः जोड्ने तयारी गरेको छ। सशस्त्र युद्धमा विश्वास राख्ने विश्वभरका कम्युनिस्ट पार्टीहरूको छाता संस्था रिभ्योल्युसनरी इन्टरन्यासनलिस्ट मुभमेन्ट (रिम)सँगको सम्बन्ध विस्तारका लागि माओवादीले पहल सुरु गरिसकेको छ। ‘जनयुद्धकाल’मा सहकार्य गरेर अघि बढेको भए पनि एकीकृत माओवादी शान्ति प्रक्रियामा आएपछि रिमसँग सम्बन्धविच्छेदको अवस्था छ। माओवादी प्रवक्ता अग्नि सापकोटाले अन्तर्राष्ट्रिय रूपमा पार्टी सम्बन्ध विस्तारको योजनाअनुसार रिमसँगको सम्बन्ध बढाउने नीति पार्टीले लिएको बताए। ‘रिमसँगको सम्बन्ध विस्तार गर्नुपर्छ भन्ने नीति पास भइसकेको छ, त्यसका लागि आवश्यक प्रक्रिया र केही विषय अझै बाँकी छन्,’ सापकोटाले भने। सापकोटाका अनुसार रिमसँगको सम्बन्ध विस्तार गर्ने नीति पारित भए पनि औपचारिक छलफल र वार्ता भने सुरु भइसकेको छैन। साउन २-६ मा सम्पन्न सातौं विस्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको ५० पृष्ठको प्रतिवेदनमा रिमसँगको सम्बन्ध विस्तार गर्न जोड दिइएको छ। 


अमेरिकालगायत पश्चिमा राष्ट्रको नेतृत्वमा अफगानिस्तान, इराक र सिरियामा आक्रमण भइरहेको आरोप लगाउँदै दाहालले प्रतिवेदनको ‘अन्तर्राष्ट्रिय परिस्थिति’ शीर्षकमा प्रतिवाद र प्रतिरक्षाका लागि पनि रिमसँग सम्बन्ध बढाउन जोड दिएका छन्। प्रतिवेदनलाई सातौं विस्तारित बैठकले साउन पहिलो साता नै पारित गरिसकेको छ। 

रिमसँगको सम्बन्ध विस्तारका लागि एजेन्डा र विषय तय गर्ने कार्य भइरहेको जानकारी सापकोटाले दिए। ‘नीति पास भएर मात्रै हुँदैन, त्यसका लागि एजेन्डा बनाउनुपर्छ, अबको ध्यान पनि कसरी अघि जाने हो भन्नेमा हो,’ उनले भने। 

पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख राम कार्कीले हिंसात्मक आन्दोलनबाट आएको माओवादीले शान्ति प्रक्रिया र सरकारको नेतृत्व गरिरहेकाले बदलिँदो परिस्थितिलाई ध्यानमा राखी रिमलगायत अन्तर्राष्ट्रिय पार्टी र संगठनसँग सम्बन्ध विस्तार गर्न लागेको बताए। 

‘हिजो हिंसात्मक आन्दोलनमा थियौं, अहिले बदलिएको परिस्थितिअनुसार शान्तिपूर्ण चरणमा छौं र सरकारको नेतृत्व पनि गरिरहेका छौं,’ कार्कीले भने, ‘रिमसँग आबद्ध पार्टी र संगठनसँग पनि सोहीअनुसार भाइचारा सम्बन्ध विस्तार गर्ने हो, तर हिजोका आँखाले आज हेर्ने चाहिँ होइन।’  कार्कीले बंगलादेश, इटली, अमेरिका लगायतका कम्युनिस्ट पार्टीमा आबद्ध दलमध्ये वैधानिक संघर्ष गर्नेहरूलाई पार्टीसँग कार्यगत एकता र भाइचारा सम्बन्धका लागि प्राथमिकतामा राखेको बताए।

पार्टी विभाजन हुनुमा रिमको हात रहेको आरोप लगाउँदै आएका भए पनि अध्यक्ष दाहालले विस्तारित बैठकमा पेस गरेको प्रतिवेदनमा साम्राज्यवादविरुद्ध लड्न रिमसँग पुनः सम्बन्ध जोडेर जान आवश्यक भएको उल्लेख गरेका थिए। ‘साम्राज्यवादको विरोध गर्ने र पर्यावरणको पक्षमा उभिने विश्वका क्रान्तिकारी पार्टी र संगठनबीच कार्यगत एकता, सहकार्य र भाइचारा सम्बन्ध हुनु अनौठो होइन,’ कार्कीले भने, ‘तर त्यस्तो सम्बन्ध वैधानिक संघर्ष गर्नेहरूसँग नै हुनुपर्छ, अबको प्रयत्न त्यही हो।’   
प्रकाश तिमल्सिना नागरिक