काठमाडौंमा बढ्दो अपराध नियन्त्रण र चाडपर्वको अवसरमा हुन सक्ने अपराधिक गतिविधिलाई कम गर्न विशेष सुरक्षा अभियान

काठमाडौं । काठमाडौंबाट प्राप्त समाचार अनुसार महानगरीय प्रहरी परिसर हनुमानढोकाले राजधानीमा मंगलवार देखि विशेष सुरक्षा परिचालन अभियान थालेको छ । काठमाडौंमा बढ्दो अपराध नियन्त्रण र चाडपर्वको अवसरमा हुन सक्ने अपराधिक गतिविधिलाई कम गर्न विशेष सुरक्षा अभियान थालिएको हो । आज हनुमानढोकामा पत्रकार सम्मेलन गरी काठमाण्डौका प्रमुख जिल्ला अधिकारी चुडामणी शर्मा र प्रहरी बरिष्ठ उपरिक्षक जयबहादुर चन्दले विशेष सुरक्षा परिचालन अभियानमा सहयोग गर्न सबैमा आग्रह गरे ।
 
समाचार अनुसार अभियान अन्र्तगत मंगलवार देखि एक महिनासम्म साँझ ८ बजे देखि राती १२ बजे सम्म ठाउँ ठाउँमा चेकिङ गरिनेछ । त्यस्तै राती १२ बजे देखि विहान ५ बजे सम्म संकास्पद रुपमा हिँडडुल गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिन सक्ने पनि प्रहरीले जनाएको छ ।
 
विशेष सुरक्षा अभियानमा २ हजार ४ सय ६० जना प्रहरी खटाइएको छ । काठमाडौंका २२ वटा स्थानलाई विशेष महत्व दिएर गुण्डागर्दी, हातहतियारको कारोवार र चोरी डकैती तथा लागुऔषधको अवैध कारोबारमा संलग्नहरुमाथि कारवाही गरिने पनि प्रहरीले जनाएको छ ।


साथै जुवा, तास, देहव्यापार, ढुकुटी र अबैद्यमदिरा नियन्त्रणका लागि समेत विशेष कारवाही अभियान संचालन गरिने पनि प्रहरीले जनाएको छ । यस्तै, चाडपर्व नजिकिदै गर्दा हुने कालो बजारीलाई रोक्न विशेष अभियान थालिने वताइएको छ ।