काठमाडौं – काठमाडौंबाट प्राप्त समाचार अनुसार पूर्व गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्का बुधबार जेल चलान भएका छन् ।
समाचार अनुसार सर्वोच्चले भ्रष्टाचारी फैसला गरेको एक सातापछि खड्का आफै अदालतमा उपस्थित भएर फैसला स्वीकार गरे । यद्यपी पूर्वमन्त्री खड्काले आफूमाथि अन्याय भएको पटक पटक दोहोर्याए । ‘मलाई अन्याय भएको छ,’ काठमाडौं जिल्ला अदालतमा धरौटीबापतको ७५ लाख ८९ हजार रुपैयाँ नगद बुझाएपछि जेल जानेबेला सञ्चारकर्मीसँग खड्काले भने ।
खड्काले सर्वोच्चको फैसलामा आफ्नो विमत्ति रहे पनि कानुनी राज्यलाई सम्मान गर्न आफैं अदालत आएको बताए । ‘मेरो राजनीतिक भविष्य दुई न्यायाधीशको फैसलाले निर्धारण गर्दैन,’ उनको भनाइ थियो, ‘म तीन करोड जनताको फैसलामात्रै स्वीकार्छु ।’
खड्काले सर्वोच्चको फैसलाविरुद्ध हुने पुनरावलोकनमा आफूमाथि न्याय हुने विश्वास व्यक्त गरे । कार्यकर्ताको ठूलै दलबलसहित जिल्ला अदालत आएका उनले २० प्रतिशत धरौटी छुट कटाएर ७५ लाख ८९ हजार रुपैयाँ बुझाए । झोलामा नगद लिएरै उपस्थित उनले धरौटीको रकम जिल्ला जिल्लाका कार्यकर्ताले सहयोग दिएको उल्लेख गरे ।
३० साउनमा सर्वोच्चका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले खड्कालाई भ्रष्टाचार गरेको अभियोगमा डेढ वर्ष कैद र ९४ लाख ७५ हजार रुपैयाँ जरिवाना, त्यही बराबरको बिगो र त्यसले बढेबढाएको सम्पत्ति जफत गर्ने फैसला गरेको थियो ।
धरौटीसहित खड्काले कैदमा पनि २० प्रतिशत छुट पाएका छन् । अदालतबाट फैसला भएको ६० दिनभित्र अभियुक्त स्वयं अदालतमा उपस्थित भए २० प्रतिशत सजाय माफी हुने कानूनी व्यवस्था छ । उनले १८ लाख ९४ हजार रुपैयाँ छुट पाएका छन् भने जेल पनि एक वर्ष २ महिना ९ दिनमात्रै बस्नुपर्नेछ । २०७० साल कात्तिक १४ गते खड्का रिहा हुनेछन् ।