नुवाकोट । प्राप्त समाचार अनुसार नुवाकोटमा नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा कोइराला र देउवा पक्षका कार्यकर्ताबीच हानाहान भएको छ । जिल्ला विकास समितिको हलमा भएको कार्यक्रममा जिल्लाका नेताद्वय अर्जुन नरसिंह केसी र डा. रामशरण महत पक्षबीच हानाहान भएको हो । नुवाकोट महिला संघकी अध्यक्ष विन्दा अर्यालले कार्यक्रमको अध्यक्षता गरिरहेकोमा प्रजातान्त्रिक कांग्रेस बन्दा महिला संघको जिल्ला अध्यक्ष बनेकी कल्पना नेपालीले आफ्नो भूमिकाको बारेमा प्रश्न गरेपछि विवाद उठेको हो ।
विवाद बढ्दै जाँदा तरुण दलका जिल्ला अध्यक्ष अर्जुन न्यौपाने र उत्तम पाठकले माइक खोस्न थालेपछि केसी पक्षका कार्यकर्ताले उनीहरुमाथि हात हालेका थिए । विवाद मिलेको भन्दै फेरि शुरु भएको कार्यक्रममा जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले उत्तेजित शैलीमा महिला संघको विवाद केन्द्रबाट आएको भन्दै केन्द्रीय सदस्य डा. प्रकाशशरण महत र संघकी केन्द्रीय अध्यक्ष डा. डिला संग्रौला लगायतमाथि आक्षेप लगाएपछि तनाव बढेको थियो ।
महत पक्षधर कार्यकर्ताले केसी पक्षका कार्यकर्ता विरुद्ध नारावाजी गरेका थिए । केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले बोल्न खोज्दा महत पक्षले होहल्ला गरेर बोल्न अवरोध गरेका थिए ।