राष्ट्रपति राष्ट्रिय हित र संविधानको मर्मलाई ध्यान दिई अध्यादेशहरु जारी गर्नुपर्ने एकीकृत माओवादीका उपप्रधानमन्त्रीको भनाई

काठमाडौँ – उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपति रामवरण यादवले राष्ट्रिय हित र संविधानको मर्मलाई ध्यान दिई मन्त्रिपरिषद्ले सिफारिस गरेका विभिन्न अध्यादेशहरु जारी गर्नुपर्ने बताएका छन्।

 

आफ्नो पुल्चोकस्थित मन्त्री निवासमा केही सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सरकारले विभिन्न आठ अध्यादेश सिफारिसको तयारी गरेको जानकारी दिए।

स्थानीय विकासमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका उपप्रधानमन्त्री श्रेष्ठले राजनीतिक अस्थिरता छ भन्दैमा विकास निर्माणका कामलाई विश्राम लाउन नहुने र सरकारले आफ्नो कामलाई निरन्तर अघि बढाइरहेको जनाए।


उनले निकट भविष्यमै आफूले विकास निर्माणकै सन्दर्भलाई लिएर छिमेकी चीनको भ्रमण गर्ने तयारी गरेको पनि जानकारी दिए। रासस