एप्पल र सामसुङबीचको कानूनी लडाईमा सामसुङले अब एक अर्ब डलरभन्दा बढी जरिवाना तिर्नुपर्ने
भाद्र ९ गते, २०६९ मा प्रकाशित
स्मार्टफोन बनाउने विश्वका दुई चर्चित कम्पनी एप्पल र सामसुङबीचको कानूनी लडाईमा सामसुङले हार ब्यहोर्नु परेको छ । दुई संस्थाबीच चलेको कानूनी लडाईमा सामसुङले एप्पललाई अब एक अर्ब डलरभन्दा बढी जरिवाना तिर्नुपर्ने छ ।
अमेरिकाको क्यालिफोर्नियास्थित संघीय अदालतका नौ जना सदस्य रहेको एक जूरीले गरेको फैसलामा सामसुङले एप्पलका केही पेटेन्ट अधिकारकोसमेत उल्लंघन गरेको उल्लेख छ ।
केही उपकरणमा सामसुङले एप्पलका सफ्टवेयर र डिजाइन पेटेन्टको उल्लंघन गरेको फैसलामा भनिएको छ । सामसुङले भने एप्पलले आफ्नो पेटेन्ट अधिकार उल्लंघन गरेको दावी गरेको थियो ।
उक्त दावीलाई भने खारेज गरिएको छ । ब्यापारिक नियमको उल्लंघन गरी सात पेटेन्ट अधिकारको चोरी गरेको भन्दै एप्पलले साढे दुई अर्ब डलर जरिवाना माग गर्दै सामसुङविरुद्ध मुद्दा हालेको थियो ।
सामसुङले भने एप्पलको मागको प्रतिवाद गर्दै उल्टै उसविरुद्ध ५२ करोड जरिवाना माग गर्दै मुद्दा दिएको थियो । एप्पलले पाँच पेटेन्ट अधिकारको चोरी गरेको आरोप सामसुङको थियो ।