काठमाडौ। करिब तीन महिनादेखि अवरुद्व माओवादी पूर्व लडाकुहरुको भर्ना, छनौट प्रक्रिया यही भदौ २१ गतेदेखि सुरु हुने भएको छ ।
आज बसेको सेना समायोजन तथा रेखदेख र पुनःस्थापना विशेष समितिको बैठकले लडाकुको अवरुद्व छनौट तथा भर्ना प्रक्रिया विशेष समिति मातहतको सचिवालयको समन्वयमा छनौट समितिले सुरु गर्ने निर्णय गरेको हो ।
समायोजनको काम गर्दा लडाकुको आत्मसम्मानमा चोट नपर्ने गरी सजग भएर काम गर्ने, समायोजन प्रक्रियाबाट फर्कने लडाकुलाई स्वेच्छिक अवकास वा पुनस्थापनाको प्याकेज दिन सचिवालयलाई निर्देशन दिने, समायोजनको प्रक्रिया सकिनासाथ समायोजन रोज्ने लडाकुको सङ्ख्या टुङ्गो लाग्ने र ती सबै लडाकुलाई तालिममा पठाउनुअघि ४५ दिन घरबिदा दिने निर्णय पनि विशेष समितिले गरेको छ । समायोजन रोजेका लडाकुलाई घरबिामा पठाएको समयमा उनीहरुको सङ्ख्यालाई ३५ प्रतिशत मानेर आवश्यक पर्ने संरचनाको गठन आदेशको लागि निर्णय गर्ने, लडाकुलाई बिदा अवधिभरमा साविकको तलव र रासनभत्ता दिने र तालिम सुरु भएको दिनदेखि नेपाली सेनाको तलव र रासनभत्ता दिने निर्णय भएको मुख्य सचिव लीलामणि पौड्यालले जानकारी दिनुभयो ।
अनमिनद्वारा दिइएको प्रमाणपत्र र नागरिकतामा उमेर फरक भएमा नागरिकताको उमेरलाई मान्यता दिने, प्रवेश मिति कायम गर्दा लडाकुको सहमतिमा न्यूनतम १८ वर्ष पुगेको मितिबाट गणाना गर्ने, बढी उमेर भएका लडाकुको लागि थप तीन वर्षसम्मको लचकता दिने निर्णय पनि विशेष समितिले गरेको छ । शिक्षाको हकमा भने पुरानै निर्णय र बुझाइलाई निरन्तरता दिने, समायोजन प्रक्रिया सुरु हुने वित्तिकै लडाकुको हतियार नेपाली सेनाको स्वामित्वमा ल्याउने निर्णय भएको मुख्य सचिव पौड्यालले बताउनुभयो ।
विशेष समितिको अर्को वैठक आउँदो १८ गते बस्ने छ । RSS