प्रमुख राजनीतिक दलहरुद्धारा सहमतिका आधारमा वर्तमान राजनीतिक गतिरोधको समाधान खोज्ने सामूहिक प्रतिबद्धता

काठमाडौँ – प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले सहमतिका आधारमा वर्तमान राजनीतिक गतिरोधको समाधान खोज्ने सामूहिक प्रतिबद्धता जनाएका छन्। उनीहरुले आपसी विवाद थाती राखेर संवादको प्रक्रिया पुनः सुचारु राख्ने सहमति पनि सार्वजनिकरुपमा व्यक्त गरेका छन्। 


 
पूर्वसांसद मञ्च नेपालद्वारा राजनीतिक निकासका लागि राष्ट्रिय संवाद विषयमा यहाँ आयोजित कार्यक्रममा उनीहरुले सो प्रतिबद्धता व्यक्त गर्दै छिट्टै राजनीतिक र संवैधानिक सङ्कटको निकास निकालिने जनाएका छन्।

 

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले दलहरुको बीचमा विश्वासको वातावरण बनाउने काम सरकारको हो तर सरकार यस विषयमा सुतेर बसेको छ भने। पूर्वप्रधानमन्त्री नेपालले भने – ‘राजनीतिक सहमतिका लागि वर्तमान सरकारले मार्गप्रशस्त गर्नुपर्छ र सविधानसभाको पुनःस्थापना वा निर्वाचन के हो भन्ने विषयमा छिटो छिनोफानो गर्न सक्नुपर्छ।’

राप्रपाका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले राजनीतिक दलबीचको संवादको प्रक्रिया कमजोर हुँदा राजनीतिक सङ्कट उत्पन्न भएको जनाउँदै यसको समाधानका लागि दलबीच सामूहिक प्रयत्नको खाँचो औँल्याए।


नेकपा (माले) का महासचिव सिपी मैनालीले विगतको जस्तो कार्यान्वयन नहुने सहमति दलहरुबीच अब फेरि नहोस् भने। राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले उग्रवामपन्थी भड्काउ र सङ्घीयताले देशमा राजनीतिक अन्योल थप्दै गएको बताए। – रासस