डीपीटी खोप लगाएको करिब १४ घण्टामा पर्वतमा एक शिशुको मृत्यु

दिलीप पौडेल

 

 बाग्लुङ – डीपीटी खोप लगाएको करिब १४ घण्टामा पर्वतमा एक शिशुको मृत्यु भएको छ। म्याग्दी पाखापानी-४ घर भई पर्वत धाइरिङ-३ सल्यान माइत बस्न आएकी गीता विकका साढे दुई महिने छोराको सोमबार राति मृत्यु भएको हो।

 
स्वस्थ्य अवस्थामा रहेको बच्चाको खोप लगाएको केही घण्टामा अचानक मृत्यु भएपछि आफन्तले खोपको असरले मृत्यु भएको भन्दै छानबिनको माग गरेका छन्। सोमबार दिउँसो करिब ११ बजेतिर खोप लगाएपछि शिशुलाई ज्वरो आएको थियो। शिशुको राति मृत्यु भएकोले खोपको कारण मृत्यु भएको मृतकका काका प्रशान्त विकले बताए।


‘बच्चाको स्वास्थ्य ठीक भएकोले दिउँसो डिपिटी खोप लगाएको हो,’ प्रशान्तले भने,’ खोप लगाएपछि दिउँसो ज्वरो आएको रहेछ राती मृत्यु भयो।’ ‘ डिपिटीकै कारण मृत्यु भएको शंका छ,’ उनले भने,’ घटनाको छानबिन गर्नुपर्छ।’ शिशुकी आमा गीताले राती करिब ११ बजे दुख खुवाएर सुतेपछि करिब दुई बजे व्युझिँदा मृत्यु भएको थियो। मृत्यु भएका बालकको खोप लगाएको शरीरको भाग निलो भएको उनले बताए।


आफन्तले खोपको कारण बालकको मृत्यु भएको भन्दै उजुरी गरेपछि जिल्ला जनस्वास्थ्य कार्यालय र प्रहरीको टोलीले शिशुको शबलाई जिल्ला अस्पताल पर्वत लगी मंगलबार पोष्टमार्टम गरिएको छ। शिशुको स्वास्थ्य परिक्षण गर्दा ठिक भएकोले डिपिटी खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। धाइरिङ उपस्वास्थ्य चौकीका अहेब देब बहादुर जि.सी. नेतृत्वको टोलीले खोप लगाएको थियो।


जनस्वास्थ्य कार्यालयले भने डीपीटी खोपको कारण नभई स्वाशप्रश्वासको समस्याले शिशुको ज्यान गएको जनाएको छ। ‘खोप लगाउँदासम्म कुनै समस्या नदेखिएपछि शिशुलाई खोप लगाइएको थियो,’ घटनास्थल पुगेर फर्किएका जनस्वास्थ्य कार्यालय पर्वतका खोप सुपरभाईजर देवेन्द्र गुरुङले भने, ‘खोपको कारण नभई सुत्ने बेलामा स्वाशप्रश्वासमा समस्या आएपछि बच्चाको मृत्यु भएको हुनुपर्छ।’


पोष्टमार्टम रिपोर्टमा स्वाशप्रश्वासमा आएको समस्याले मृत्यु भएको गुरुङले बताए। गुरुङले भने,’ डिपिटीमा डिफेक्ट भए सोही भाईल लगाएका अरु शिशुमा समस्या देखिनु पर्थ्यो।’ एक भाइल सीसी १० शिशुलाई लगाइएको थियो। डीपीटी खोप एक बर्षसम्मका बच्चालाई अनिवार्य लगाउनु पर्छ। डिपिटी खोप शिशु जन्मेको डेढ महिना भित्र लगाउनु पर्ने भएपनि सो शिशुलाई साढे दुई महिनामा पहिलो पटक लगाएको थियो। लहरे खोकी, धनुस्टंकार, भ्यागुते रोग, हेपटाईटिस ‘बी’, निमोनियाबाट बंच्नकोलागि हरेक शिशुलाई एक महिनाको अन्तरमा तीन डोज लगाउनुपर्ने सुपरभाईजर गुरुङले बताए।