काठमाडौं – सचिव वृन्दा हाडाले आफ्नो सरुवा रोक्न दिएको रिटमा सर्वोच्च अदालतले अघिल्लो साता दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेर अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध अवहेलना मुद्दा दायर गरेकी छन्।
सिँचाइ मन्त्रालयबाट महालेखा नियन्त्रक कार्यालय हुँदै प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएकी हाडाले सेवानिवृत्त हुने बेला अपमानजनक सरुवा गरेको भन्दै सर्वोच्चमा रिट दिएकी थिइन्। सर्वोच्चका न्यायाधीश भरतबहादुर कार्कीको एकल इजलासले बिहीबार हाडालाई मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म ऊर्जामा फर्काउन आदेश दिएको थियो।
आदेश भएको एक सातासम्म प्रधानमन्त्रीले आफूलाई ऊर्जामा नफर्काएको हाडाको आरोप छ। ‘देशकै सर्वोच्च न्यायालयले दिएको आदेश प्रधानमन्त्रीले त मानेका छैनन् भने अरू गुन्डा, डनहरुले किन मान्छन् र?’ हाडाले मुद्दा दायर गरेपछि सर्वोच्च अदालतमै भनिन्, ‘त्यसैले बाध्य भएर प्रधानमन्त्री, सिचाइँमन्त्री, मुख्य सचिवविरुद्ध मुद्दा दायर गरेकी हुँ।’
मुख्य सचिव लीलामणि पौडेलले आफूलाई अपमानजनकरूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा काज सरुवा गरेको भन्दै हाडा सर्वोच्च गएकी थिइन्। ‘म सचिव पोस्टमा भएको व्यक्तिको पक्षमा दिएको सर्वोच्चको आदेश त प्रधानमन्त्रीले कार्यान्वयन गर्दैँनन्,’ हाडाले भनिन्, ‘अरू सामान्य जनताको पक्षमा सर्वोच्चले बोलेको कुरा कसरी कार्यान्वयन होला?’
ऊर्जा सचिवबाट आफूलाई विधिवत नहटी प्रतापकुमार पाठकलाई ल्याएर सरकारले आदेशको अवहेलना गरेको उनको दाबी छ।
– नागरिक