मानव अधिकार सम्बद्ध अन्तर्राष्ट्रिय संस्थाहरूद्धारा बेपत्ता खोजबिन र सत्य तथा मेलमिलाप आयोग गठन अध्यादेश फिर्ता गर्न राष्ट्रपतिलाई आग्रह

काठमाडौं – मानव अधिकार सम्बद्ध अन्तर्राष्ट्रिय संस्थाहरूले राष्ट्रपति रामवरण यादवलाई पत्र लेख्दै बेपत्ता खोजबिन र सत्य तथा मेलमिलाप आयोग गठनसम्बन्धी अध्यादेश अन्तर्राष्ट्रिय मापदण्डअनुरूप नभएकाले फिर्ता गर्न आग्रह गरेका छन् ।


अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनल, हुमन राइट्स वाच, इन्टरनेसनल कमिसन अफ जुरिस्ट रिट्रायल (दण्डहीनताका विरुद्ध स्विस संघ) ले राष्ट्रपति यादवलाई शुक्रबार संयुक्त रूपमा पत्र पठाउँदै मन्त्रिपरिषद्ले भदौ १२ गते पारित गरी स्वीकृतिका लागि पठाइएको यी अध्यादेशबारे ध्यानाकर्षण गराएका हुन् ।


उनीहरूले पत्रमा मानव अधिकार उल्लंघन सम्बन्धमा सत्य, न्याय र जवाफदेहिता नेपाली जनताको वर्षौ‌देखिको प्रमुख माग रहेको जनाउँदै पटक-पटकको प्रतिबद्धताका बाबजुद पनि त्यसपछिका सरकारहरू ती माग पूरा गर्न असफल रहेको जनाएका छन् । ‘यहाँलाई पठाइएको अध्यादेशमा पनि न्यायका लागि नेपाली जनताको अधिकारलाई अस्वीकार गरिएकाले यो अध्यादेश तत्काल फिर्ता गर्नका लागि हामी प्रोत्साहित गर्दछौं,’ पत्रमा भनिएको छ ।


वक्तव्यमा इन्टरनेसनल कमिसन अफ जुरिस्टका एसिया प्रशान्त क्षेत्रीय निर्देशक साम जारिफी, ट्रायलका निर्देशक फिलिप ग्रान्ट, हुमन राइट्स वाचका एसिया निर्देशक ब्राड आडम्स र एमनेस्टी इन्टरनेसनलका एसिया प्रशान्त कार्यक्रम उपनिर्देशक पोली ट्रस्कोटले पनि हस्ताक्षर गरेका छन् ।

 

कान्तिपुर