भारतद्धारा पाकिस्तान प्रशासित कश्मिरमा गतिविधि नगर्न चीनलाई आग्रह

भारतले पाकिस्तान प्रशासित कश्मिरमा गतिविधि नगर्न चीनलाई आग्रह गरेको छ । भारतका रक्षामन्त्री एके एन्टोनीले चीनसंग पाकिस्तान प्रशासित कश्मिरमा आफ्नो परियोजना रोक्न आग्रह गरिएको जानकारी दिनुभएको छ । पांच दिने भारत भ्रमणमा रहेका चिनियां समकक्षी जनरल लियांग गुआंगलीसंगको भेट अघि रक्षामन्त्री एन्टोनीले यो जानकारी दिनुभएको हो ।


तर चीनले भने पहिले देखि नै कास्मिरमा संचालित आफ्ना परियोजनाहरुको कामलाई निरन्तरता दिने स्पष्ट पारिसकेको छ । संसदमा बोल्दै एन्टोनीले पाकिस्तान प्रशासित कश्मिरमा चिनियां योजनाका विषयमा भारतलाई जानकारी रहेको र यसबारे चीनलाई भारतको असन्तुष्टि बताइसकेको जनाउनुभयो ।


उहांले चीनले जम्मु कश्मिरमा ४३ हजार वर्ग किलोमिटर भन्दा बढी भूभाग कब्जा गरेको र पाकिस्तान प्रशासित कश्मिरको ५ हजार वर्ग किलोमिटर भन्दा बढी भूभाग समेत सामेल रहेको बताउनु भयो । जनरल लियांग पछिल्लो आठ बर्षमा भारत भ्रमण गर्ने पहिलो चिनियां रक्षामन्त्री हुनुहुन्छ ।

 

– Agencies