ताप्लेजुङ – राजनेता, उच्च पदस्थ व्यक्तिको निधनमा शोक मनाइन्छ । राष्ट्रिय झन्डा झुकाइन्छ र सार्वजनिक बिदासमेत गरिन्छ । सर्वसाधारण नागरिकको मृत्युमा भने सामान्यतया यस्ता कुनै पनि गतिविधि गरिन्न ।
ताप्लेजुङको एउटा एफएम रेडियोले भने सर्वसाधारण नागरिकको मृत्युमा प्रत्येक दिन एक मिनेट शोक धुन बजाउन थालेको छ । कार्यक्रम ‘श्रद्धा सुमन’ मार्फत मृतकको विवरण प्रस्तुत गरेर साँझ ६ः३० बजे शोक धुन बजाउँछ ।
ताप्लेजुङ एफएम ९४ मेगाहर्जका कार्यक्रम प्रस्तोता इन्द्र सरोवर बजगाईंले भने, ‘हरेक नागरिकले समाजमा केही न केही योगदान पुर्याएको हुन्छ, उसको योगदानको कदर गर्न यस्तो कार्यक्रम बनाएको हो ।’
उनका अनुसार विवरण पाएसम्म मृतकले गरेका योगदानको चर्चासमेत गरिन्छ । यसपछि शोक धुन बजाउने गरिएको छ । ‘पहिला सबैको विवरण प्रस्तुत गर्छौं अनि उनीहरूको नाम दोहोर्याएर धुन बजाउँछौं,’ बजगाईंले भने ।
कार्यक्रम शोकाकुल भएको आभास दिलाउने गरी प्रस्तुत गरिन्छ । श्रोताले यसलाई आत्मसम्मानका रूपमा लिएकाले एफएम सुनिने क्षेत्रका बासिन्दाले मृतकको विवरण टिपाउने गरेको उनी बताउँछन् । ‘अहिले त हाम्रो एफएम नसुनिने झापा, मोरङबाट पनि विवरण आउन थालेको छ,’ बजगाइर्ंले भने, ‘यो कार्यक्रमबाट नागरिक राम्रा काम गर्न प्रेरित हुन्छन् भन्ने अपेक्षा गरेका छौं ।’