माओवादी शिविरमा रहेका लडाकु समायोजनको काम फेरि सुरु


काठमाडौं  । माओवादी शिविरमा रहेका लडाकु समायोजनको काम आजदेखि फेरि सुरु भएको छ ।

 

मुख्य शिविर रहेका इलाम, सिन्धुली, चितवन, नवलपरासी, रोल्पा, सुर्खेत र धनगढीमा समायोजन प्रक्रिया थालिएको हो । समायोजन प्रक्रियामा देखिएका विवाद अन्त्य भएकाले सेना समायोजन प्रक्रिया फेरि सुरु गर्न सबै मुख्य शिविरमा समितिका ६ र नेपाली सेनाका ६ र ७ जनाको टोली पुगेका छन् ।

 

समितिका संयोजक बालानन्द शर्माले छनोट प्रक्रियाको तयारी पूरा भएको जानकारी दिनुभयो ।

 

सेना समायोजन विशेष समितिको भदौ ११ गते बसेको बैठकले अवरुद्ध लडाकु छनोट प्रक्रियालाई भदौ २१ गतेदेखि अगाडि बढाउने निर्णय गरेको थियो । पछिल्लोपटक भएको छनोट प्रक्रियामा योग्य ठहरिएका ३ हजार १ सय २३ जना लडाकुले समायोजन प्रक्रियामा भाग लिनेछन् ।

 

लडाकुको जन्ममितिको विवादलाई नागरिकतामा उल्लेख भएको जन्ममितिलाई आधार मानिने र १८ वर्ष पुगेकै मितिलाई सेवा प्रवेशको आधार बनाइने छ ।

 

छनोट प्रक्रिया अगाडि बढाइएपछि महानिर्देशनालय गठनबारेको प्रक्रिया सुरु गरिने छ । नेपाली सेनाले बनाएको योजनाअनुसार एक महिनाभित्र समायोजन प्रक्रिया सम्पन्न हुनेछ ।