माओवादी र कांग्रेसको बैठकद्धारा भदौ मसान्तभित्र संविधानका विवादित विषय मिल्न नसके निर्वाचनमा जाने सहमति

काठमाडौं – माओवादी र कांग्रेसको बुधबार बसेको बैठकले भदौ मसान्तभित्र संविधानका विवादित विषय मिल्न नसके निर्वाचनमा जाने सहमति गरेका छन् ।

 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको बैठकले बिहीबारदेखि नै तीन दलको बैठक बसेर संविधानमा सहमति जुटाउने प्रयास थाल्ने समेत भएका छन् ।

 

‘संविधानका विषयमा सहमति जुटाएर मस्यौदासमेत तयार पारेर छोटो अवधिका लागि संविधानसभा पुनःस्थापना गर्नु सबैभन्दा राम्रो विकल्प हुन्छ भन्नेमा छलफल भयो’ बैठकपछि कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले भने, ‘सहमति हुन सकेन भने अब त्यसैमा रटान दिएर लामो समय पर्खन सकिँदैन ।’ उनले दुवै विकल्पमा सहमति गर्दा पनि पहिला राष्ट्रिय सहमतिको सरकार आवश्यक पर्ने बताए ।

 

 ‘प्रचण्डजी दुवै विकल्पमा कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सकारात्मक नै हुनुहुन्छ’ सिटौलाले भने । बैठकमा माओवादीबाट अध्यक्ष दाहाल मात्रै सहभागी थिए भने कांग्रेसबाट वरिष्ट नेता शेरहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री द्वय सिटौला र प्रकाशमान सिंहको उपस्थिति थियो ।

 

दुई दलका नेताहरूले गत जेठ २ गते भएको सहमतिको वरिपरि रहेर निकास निकाल्न प्रयास गर्ने समेत बताएका छन् । RSS