काठमाडौँमा अहिलेसम्मकै अत्याधिक वर्षा, देशभर मनसुन सक्रिय रहने क्रम जारी

काठमाडौ  – मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा गत २४ घन्टामा अहिलेसम्मकै अत्याधिक वर्षा भएको जनाएको छ ।


महाशाखाले १६६ मिलिलिटर वर्ष भएको अभिलेख दर्ता गरेको छ । नेपालमा वर्षाको अभिलेख सुरु भएदेखि सो अहिलेसम्मकै उच्च वर्षादर भएको बताइएको छ । पछिल्ला दिनमा देशभर मनसुन सक्रिय रहने क्रम जारी रहेको र यो अझै दुईसातासम्म कायम रही बिस्तारै कमजोर बन्दै जाने वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले बताउनुभयो ।


सामान्यतया नेपालमा जुन १० देखि सेप्टेम्बर २३ सम्म मनसुन रहने गर्छ तर कहिलेकाहीँ यो एक दुई दिन तलमाथि पनि हुने गर्छ । मनसुन नेपालमा भारतको केराला, आसाम हुँदै मेचीबाट प्रवेश गरेर महाकालीसम्म सक्रिय भई करिब ११० दिनसम्म देशभरका विभिन्न स्थानमा वर्षा चल्ने वरिष्ठ मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।


मनसुन कमजोर भएपछि पश्चिमबाट पूर्वतर्फ लाग्ने गर्छ । जुन महिनामा ६०, जुलाईमा ८७ र अगस्तमा ९० प्रतिशत वर्षा भएको अभिलेख सो महाशाखाले दर्ता गरेको छ । महाशाखाका अनुसार करिब तीन महिनाको यो समयमा देशभर एक हजार ४०० मिलिलिटर वर्षा हुनु सामान्य मानिन्छ । चालु वर्षमा सामान्य वर्षाभन्दा कम हुने अनुमान गरिएको छ । रासस