मुश्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको अपमान गरेको भनिएको हलिउड चलचित्र विरुद्ध आक्रोशित मुश्लिम समुदायले विश्वका विभिन्न ठाउँ ठाउँमा प्रदर्शन राखेका छन् । आक्रोशित प्रदर्शनकारीहरुले यमनको राजधानी सानास्थित अमेरिकी दूतावासमा आक्रमण गरी व्यापक क्षति पु-याएको बताइएको छ ।
ठूलो संख्यामा रहेका प्रदर्शनकारीलाई प्रहरीले रोक्न नसकेपछि उनीहरुले दूतावासको कम्पाउण्ड भित्र प्रवेश गरी सवारी साधनमा आगजनी गरेका छन् ।
त्यस क्रममा प्रहरीसंगको झडपमा धेरैजना घाइते भएका छन् । हिजो मात्र मुश्लिम मिलिसियाको आक्रमणमा लिवियाको बेनघाजीमा अमेरिकी राजदूतसहित चार जना अमेरिकी अधिकारीको हत्या भएको थियो । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बेनघाजीमा भएको आक्रमणका दोषीहरुलाई न्यायको कठघरामा ल्याउन लिवियासगं सहकार्य गर्ने बताउनु भएको छ ।
यता इजिप्टको राजधानी कायरोमा पनि व्यापक विरोध प्रदर्शन भएको छ । हिजो आक्रोशित प्रदर्शनकारीले अमेरिकी दूतावासको कम्पाउण्ड भत्काउनुका साथै अमेरिकी झण्डा च्यातेका थिए । इजिप्टका राष्ट्रपति मोहम्मद मुर्सीले इजिप्सियनहरु पैगम्बर मोहम्मदको अपमान विरुद्ध रहेको भन्दै सबैलाई शान्त रहन आह्वान गर्नु भएको छ ।
यसैबीच, विश्वका विभिन्न मुलुकहरुमा अमेरिकी दूतावास र कन्सुलेटहरुमा आक्रमण हुने आशंकामा सुरक्षा बढाइएको छ ।