काठमाडौं । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई पक्षबीच विवाद चर्कंदै गएपछि एमाओवादीले जनवर्गीय संगठनहरुको सम्मेलन रोकेको छ ।
प्रवक्ता अग्नी सापकोटाले आज विज्ञप्ती जारी गरी सम्मेलन रोकिएको जानकारी गराएका छन् । कतिपय प्राविधिक र अन्य जटिलताका कारण जनवर्गीय संगठनहरुको निर्धारित सम्मेलन हाललाई स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सम्मेलनको अर्को मिति जनवर्गीय संगठनका इञ्चार्ज र सम्बन्धित संगठनका पदाधिकारीहरुसँग सल्लाह गरेर तोकिने जनाइएको छ । माओवादीले यसअघि मंसिर १५ देखि १७ गतेसम्म योङ कम्युनिस्ट लिग (वाईसीएल)को काठमाडौंमा, मंसिर ९ देखि ११ गतेसम्म अखिल नेपाल शिक्षक संगठनको काठमाडौंमा, मंसिर १६ देखि १८ गतेसम्म अखिल नेपाल जनसांस्कृतिक महासंघको सम्मेलन नेपालगन्जमा गर्ने निर्णय गरेको थियो ।
त्यस्तै मंसिर २४ देखि २६ गतेसम्म अखिल नेपाल महिला संघको चितवनमा, मंसिर २५ देखि २८ गतेसम्म दलित मुक्ति मोर्चाको काठमाडौंमा, मंसिर २७ देखि ३० गतेसम्म अखिल नेपाल ट्रेड युनियन महासंघको काठमाडौंमा, मंसिर ८ देखि १० गतेसम्म तमु मुक्तिमोर्चाको पोखरामा र मंसिर १२ देखि १४ गतेसम्म तामाङ राष्ट्रिय मुक्तिमोर्चाको सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।
दाहाल र भट्टराई पक्षका नेताको विवादले अखिल नेपाल होटल तथा रेस्टुराँ संगठनमा तनाव बढेको छ ।
– RSS