रक्तचन्दन तस्कर गर्ने गिरोहमाथि प्रहरीले कारबाही गर्दा कारोबारीको मृत्यु

सिन्धुपाल्चोक, भाद्र ३१ अवैद्य रक्तचन्दन तस्कर गर्ने गिरोहमाथि प्रहरीले कारबाही गर्दा आइतबार बिहान एक जनाको मृत्यु भएको छ ।सिन्धुपाल्चोकको फुल्टिङकट्टी गाविसस्थित सेलाङकट्टीमा खासा लगिँदै गरेको रक्तचन्दन गिरोहमाथि प्रहरीले आइतबार बिहान डेढ बजे गोली चलाउँदा हगाम( २ विवेक श्रेष्ठको मृत्यु भएको हो ।

प्रहरी कारबाहीमा फुल्टिङ( १ का विर्खबहादुर श्रेष्ठ र प्रताप तामाङ पक्राउ परेका छन् । मृत्यु हुने श्रेष्ठ र पक्राउ परेका दुवै जना रक्तचन्दन बोक्ने कामदार हुन् । गिरोह भने उम्किएको छ । प्रहरीले ७१ गोलिया रक्तचन्दन बरामद गरेको छ ।

प्रहरीका अनुसार ५० जनाको समूह रक्तचन्दन बोकेर खासा जाँदै थियो ।

 

चन्दन तस्करद्वारा प्रहरीमाथि ढुंगामुढा

चौतारा( प्रतिबन्धित रक्तचन्दन चीनको खासातर्फ लैजाने क्रममा सिन्धुपाल्चोकको फुलपिङकट्टीमा तस्करले प्रहरीमाथि ढुंगामुडा गरेका छन् । स्थानीय सुनखानी भन्ने स्थानमा प्रहरी नियन्त्रणमा रहेको चन्दनसहितको वा२ख ६६८७ नं।को ट्रक खोस्ने नियतले ढुंगामुडा भएपछि शनिबार बिहान २ राउन्ड हवाई फायर गरिएको

छ । जिल्ला प्रहरी प्रमुख वसन्त लामा सरुवा भएको र नयाँ प्रमुख आउँदै गरेको अवस्थामा चन्दन खासा लैजाने प्रयास गरिएको हो । सीमा प्रहरी चौकी लार्चाका निरीक्षक विश्व कार्कीका अनुसार अरनिको राजमार्गको हिन्दी भन्ने स्थानबाट नारायणस्थानको बाटो हुँदै खासा लैजाने क्रममा उक्त गाडी र २ गोलिया चन्दन फुलपिङकट्टीबाट नियन्त्रणमा लिइएको थियो ।

स्थानीय नारायणस्थान चौकीमा नियन्त्रणमा रहेको गाडी र चन्दन खोस्ने नियतले राति पौने चार बजेतिर प्रहरीमाथि आक्रमण गरिएको थियो । आक्रमणबाट जोगिन हवाई फायर गरेको प्रहरीले जनाएको छ । प्रहरीमाथि  धारिलो हतियार प्रयोग गर्ने चेतवानी जंगलबाट आएपछि हवाई फायरिङ गरिएको स्रोतले बतायो ।

सीमाबाट कार्कीको कमाण्डमा गएको टोली फर्केपछि स्थानीय चौकीका प्रहरीमाथि आक्रमण भएको हो । थप प्रहरी परिचालन गरी खोजतलास गर्दा जंगलमा फ्याँकेको अवस्थामा ४ गोलिया चन्दन फेला परेको थियो । प्रहरीका अनुसार करिब १ सय किलो चन्दन बरामद भएको छ ।

घटनास्थलमा शंकास्पद रूपमा भेटिएका २ जना युवालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको जानकारी प्रहरीले दिएको छ । नियन्त्रणमा लिएको ट्रक मालिक खोजी भइरहेको जानकारी प्रहरीले दिएको छ । पछिल्लो २ वर्षदेखि चन्दन सीमा प्रहरी र तातोपानी भन्सारको बाटो लैजान नसकेपछि तस्करले नयाँ बाटो प्रयोग गर्न थालेका हुन् । बाह्रविसेबाट सुनकोसी हुँदै कर्थलीबाट दोलखा निकाल्ने गरेको दाबी स्रोतको छ ।

केही समयपहिले जलविरेबाट पनि चन्दन चीनतिर लगिएको दाबी प्रहरीको छ । चन्दन तस्करीमा बाह्रविसे र जलविरे भेकका केही युवाहरूले स्थानीय तहमा काम गरिरहेको दाबी  स्रोतको छ । तस्कारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै बाह्रविसेका प्रहरी निरीक्षक बालाजी रायमाझीलाई गत साता प्रहरी प्रधान कार्यालय झिकाइएको थियो ।

चन्दनकै विषयमा तीन साताअघि बाह्रविसे र जलविरे भेकका युवाबीच भिडन्तको अवस्था आएको प्रहरी स्रोतले बतायो । उक्त समयमा खासा पुर्‍याएको चन्दनको कमिसन बाँडफाँडको विषयमा द्वन्द्व सिर्जना भएको प्रहरीको भनाइ छ ।