अमेरिका । अमेरिकाले पूर्वी एशियाली राष्ट्रहरुलाई कुनै पनि बेला सैन्य संघर्ष हुनसक्ने चेतावनी दिएको छ । पूर्वी एसियामा अमेरिकी विरोधी प्रदर्शन नरोकिएपछि अमेरिकाले ती राष्ट्रहरुलाई उक्त चेतावनी दिएको हो । अमेरिकी रक्षामन्त्री लियोन पानेटाले एक चलचित्रको नाममा भैरहेको प्रदर्शन उग्र बन्दै गए जातीय दंगा भड्कन सक्ने चेतावनी दिएका हुन् । इनोसेन्स अफ मुश्लिम्स् नामक अमेरिकी चलचित्रले इस्लाम धर्मगुरु पैगम्बर मोहमद र मुश्लिम समुदायको अपहेलना गरेको भन्दै अरब राष्ट्रसहितका देशमा फैलिएको हिंसामा केहीको मृत्यु भैसकेको छ।
चलचित्रविरुद्ध विश्वका विभिन्न मुलुकमा प्रदर्शन जारी छ । इराक, लिबिया लगायतका देशमा सडकमा उत्रेका सर्वसाधारणले अमेरिकाविरुद्ध नारा लगाउँदै अमेरिकी झण्डासमेत जलाएका छन् ।
यसैगरी अमेरिकी रक्षामन्त्री पानेटाले ईस्टा चाईना सी को विवादले त्यस क्षेत्रमा द्वन्द्व बढाउने सक्नेतर्फ ती क्षेत्रका देशको ध्यानाकर्षण गराउनु भएको छ । एशिया भ्रमणको क्रममा जापानको टोकियो पुग्नुभएका पानेटाले विवादित विषयमाथि एक वा अर्को पक्षले गर्ने गलत मूल्यांकन र व्याख्याले समग्र क्षेत्रलाई प्रभावित पार्ने भएकाले सजग र संयमित हुन दुवै पक्षलाई अपील गर्नुभयो ।
ईस्ट चाईना सीमा रहेका टापुहरुको स्वामित्व विवादले एशियाका दुई शक्तिशाली राष्ट्र चीन र जापान कूटनीतिक संकटमा फसेको बेला अमेरिकी रक्षामन्त्री पानेटा जापान पुगेका हुन् । टोकियोपछि पानेटा चीनको बेईजिङ पुग्नेछन् । विवादित विषय आपसी समझदारीमा सुल्झाउन आग्रह गर्दै पानेटाले एशियाली क्षेत्रको भूमि विवादमा अमेरिकाले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारे ।
– Agencies