२५ प्रजिअसहित १ सय ११ कर्मचारी सरुवा / गृहमन्त्री गच्छदारद्वारा आफ्नालाई मालवाला स्थानमा – सरुवामा काखा र पाखा

काठमान्डौ बाट अर्घाखाँची डट्कम् लाई प्राप्त जानकारी अनुसार गृह मन्त्रालयले २५ प्रमुख जिल्ला अधिकारसहित सहसचिवदेखि शाखा अधिकृतसम्मका १ सय ११ कर्मचारीको सरुवा गरेको छ । गृह मन्त्रालयले सहसचिवहरूको मन्त्री र उपसचिव एवं शाखा अधिकृतको सचिवस्तरीय निर्णयबाट आइतबार सरुवा गरेको हो ।
निजामती ऐनअनुसार मन्त्रालयहरूले भदौ महिनाभर आफ्ना कर्मचारीको सरुवा गर्न पाउँछन् । स्रोतका अनुसार गृह मन्त्रालयले सहायकस्तरका कर्मचारीसमेत एक सय जनाभन्दा बढीको सरुवा गरेको छ ।
सरुवा भएका प्रजिअमा सहसचिवस्तरका १५ र उपसचिवस्तरका १० जना छन् । सरुवा भएकामा सहसचिव १५, उपसचिव ३२, उपसचिव -स्वतः बढुवा) ११,  शाखा अधिकृत ३४ र शाखा अधिकृत (स्वतः बढुवा)  १७ जना छन् । गृहमन्त्री विजयकुमार गच्छदारले स्वार्थअनुकूलका सहसचिव र उपसचिवलाई राम्रो जिल्ला र अध्यागमन विभाग र कार्यालयमा सरुवा गरेका छन् भने आफ्नो स्वार्थ नमिलेका अधिकारीलाई कारागार विभाग र क्षेत्रीय प्रशासन कार्यालय पठाएका छन् ।
धनुषाका वसन्तराज गौतमलाई कास्की, पर्साका शम्भु कोइरालालाई कारागार व्यवस्थापन विभागको महानिर्देशक, कारागार व्यवस्थापन विभागका दुर्गाप्रसाद भण्डारीलाई मकवानपुरको प्रजिअमा सरुवा गरिएको छ । यस्तै, मकवानपुरका कृष्णहरि पुष्करलाई बारा, गृह मन्त्रालयका हरिकृष्ण उपाध्यायलाई धनुषा, कपिलवस्तुका अब्दुल कलाम खाँलाई दाङको कामु प्रजिअ, कञ्चनपुरका वासुदेव दाहाललाई तनहुँ र त्यहाँका रुद्रप्रसाद पौडेललाई कञ्चनपुर, दाङका मधुसुदन बुर्लाकोटीलाई महोत्तरीको प्रजिअमा सरुवा गरिएको छ । खाँ महत्वपूर्ण जिल्लामा लामो समयदेखि पटकपटक कामु प्रजिअ हुने भाग्यमानी उपसचिव हुन् । मन्त्रालयमै पनि उनले पटक पटक आर्थिक चलखेल हुने हज समितिमा बस्ने अवसर पाएका छन् ।  
कैलालीका कैलाशकुमार बजिमयलाई पर्सा, गृह मन्त्रालयका रामप्रसाद थपलियालाई क्षेत्रीय प्रशासन कार्यालय पोखराको सहक्षेत्रीय प्रशासक, कास्कीका प्रजिअ चेतनाथ भट्टराईलाई कैलाली, क्षेत्रीय प्रशासन कार्यालय हैटौंडाका सहक्षेत्रीय प्रशासक कृष्णचन्द्र घिमिरेलाई कपिलवस्तुको प्रजिअमा सरुवा गरिएको छ । द्वन्द्वपीडितलाई राहत वितरण गर्दा रकम हिनामिना गरेको आरोमा सर्लाहीको प्रजिअबाट गृह मन्त्रालयमा तानिएका थपलियालाई सहक्षेत्रीय प्रशासकको जिम्मेवारी दिइएको हो ।
त्यसैगरी क्षेत्रीय प्रशासन कार्यालयमा डोटीका सहक्षेत्रीय प्रशासक शंकर अधिकारीलाई क्षेत्रीय प्रशासन कार्यालय हेटौंडा, चीनमा अध्ययनमा गएका सहसचिव वीरेन्द्र यादवको दरबन्दी क्षेत्रीय प्रशासन कार्यालयमा डोटीमा सारिएको छ ।
त्रिभवन विमानस्थल अध्यागमन कार्यालयका विष्णुराज कार्कीलाई संखुवासभाको प्रजिअ, अध्यागमनकै हुमनाथ थपलियालाई कारगार व्यवस्थापन विभाग, संखुवासभाका प्रजिअ सीताराम कार्की, ओखलढुंगाका सागरमणि पराजुली, र रसुवाका प्रजिअ कमलकान्त रेग्मी, महोत्तरीको कामु प्रजिअ प्रदीपराज कँडेललाई मन्त्रालय र मन्त्रालयका एकमणि नेपाललाई भक्तपुरको प्रजिअमा सरुवा गरिएको छ ।
त्यसैगरी भक्तपुरका प्रजिअ जितेन्द्र भण्डारीलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय, मन्त्रालयका केशव आचार्यलाई सिन्धुली, मन्त्रालयकै उमेश ढकाललाई दैलेख, कारागार विभागका तेजप्रसाद पौडेललाई ललितपुरको सहायक प्रजिअ, ललितपुरका सहायक प्रजिअ सागरमणि पाठकलाई क्षेत्रीय प्रशासन कार्यालय हेटौंडा, सुर्खेत क्षेत्रीय प्रशासन कार्यालयका सूर्य थापालाई ओखलढुंगाको प्रजिअ, म्याग्दीका कृष्ण ज्ञवालीलाई विमानस्थल अध्यागमन कार्यालय, बाराका सहायक प्रजिअ चन्द्रबहादुर कार्कीलाई म्याग्दीको प्रजिअ र सुनसरीका सहायक प्रजिअ वासुदेव घिमिरेलाई रसुवाको प्रजिअमा सरुवा गरिएको छ ।
यसैबीच सरकारले सामान्य प्रशासन मन्त्रालयलाई कर्मचारीहरूलाई सोझै विभाग र कार्यालयहरूमा सरुवा नगर्न लिखित निर्देशन दिएको छ । सामान्य प्रशासनले कर्मचारीहरूलाई कार्यालय तोकेर सरुवा गर्दा उनीहरूमाथि तालुकवाला मन्त्रालयले अनुशासन र नियन्त्रणमा राख्न नसक्ने प्रवृत्ति बढ्दै गएको आवाज उठेपछि सरकारले त्यस्तो निर्देशन दिएको हो । मन्त्रिपरिषदको पछिल्लो बैठकले सामान्य प्रशासनलाई अब आइन्दा कर्मचारीहरूलाई सोझै विभाग या कार्यालयमा नभई मन्त्रालय या केन्द्रीय कार्यालयमा सरुवा गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार सामान्यले कर्मचारीहरूलाई अब मन्त्रालयमा सरुवा गर्नेछ । मन्त्रालयले आवश्यकताअनुसार आफ्ना मातहतका विभिन्न विभाग र कार्यालयमा सरुवा गर्नेछ, त्यसो गर्दा आफ्ना कर्मचारीमाथि मन्त्रालयको अनुशासन र नियन्त्रण कायम रहने र सामान्यले राजनीतिक दबाब या आर्थिक स्वार्थपूर्ति गरेर कर्मचारीहरूलाई सोझै कमाउ अड्डामा सरुवा गर्ने प्रवृत्तिको अन्त्य हुने विश्वास सरकारी अधिकारीले व्यक्त गरेका छन् ।