मुम्बईमा सन् २००८ मा भएको आतंकवादी आक्रमणका एक मात्र जिवित अभियुक्त अजमल अमिर कसाबले भारतका राष्ट्रपति प्रणब मुखर्जीसंग आफ्नो मृत्युदण्ड सजाय माफीको याचिका पेश गरेका छन् ।
कसाबको यो याचिका पहिला महाराष्ट्रका राज्यपाल समक्ष पुगेपछि मात्र राष्ट्रपतिको कार्यालयमा पठाइने प्रक्रिया रहेको छ । भारतका पूर्व गृहमन्त्री पी चिदम्बरमका अनुसार राष्ट्रपति समक्ष कसाब भन्दा अघि २९ जनाले विभिन्न सजायको पाएको माफीका सम्बन्धमा पत्र लेखिसकेका छन् ।
यसबाट कसाबले माफी नै पाए पनि त्यो निकै लामो समय पछि मात्रै हुने छ । पूर्व राष्ट्रपति प्रतिभा पाटिलले पनि आफ्नो कार्यकालमा ३५ जना अपराधीको मृत्युदण्डको सजायलाई माफी दिनु भएको थियो ।
यता भारतका विभिन्न राजनीतिक र सामाजिक संगठनले कसाबलाई छिटो भन्दा छिटो फांसी दिनु पर्ने माग गरेका छन् । मुम्बईमा सन् २००८ को नोभेम्बर २६ मा भएको आक्रमण पछि पक्राउ परेका कसाबलाई दोषी ठहर गर्दै भारतको सर्वोच्च अदालतले गत वर्ष मृत्युदण्डको सजाय सुनाएको थियो ।
– एजेन्सी