अर्घाखाँचीको धारापानी गाविसकी चन्द्रकला थापा बन्जाडेको जिउदै मृत्‍युदर्ता /०६५ सालमा मृत्‍युदर्ता २०६७ सालमा नागरिकताको प्रमाणपत्र दिएको खुलासा

– उमाकान्त पाण्डे गाउंले

बुटवल



मान्छेको मृत्‍यु पछी मृत्‍युदर्ता भयो त स्वभाविकै हो तर मान्छेको मृत्‍यु भएको भनेर दर्ता भएपछी पनि सोही ब्यात्तीको नाममा नागरिकता प्रदान गरिन्छ भने त्यो भन्दा अझ फितलो प्रशासनको लाचारी पन अन्य के होला ? मान्छे जिवितै , तर हुन्छ मृत्‍युदर्ता , मृत्‍युदर्ता भए पछी पनि त्यही प्रशासनले सोही ब्यात्तीलाई नागरिकता दिईन्छ भने त्यो लाचारी पनलाई के भनिन्छ ? कुनै मान्छे जिउदै र आफ्नो दैनिक रोजिरोटी ज्यालामजदुरी गरेर दैनिकी चलाई रहदा उनको नाममा मृत्‍यु दर्ता भएको भन्ने सुन्दा तपाईं लाई अचम्म लाग्न सक्ला । त्यो पनि सरकारी उच्च पदस्त कर्मचारी बाट यस्तै काम हुन्छ ।



यस्तै घटना भएको छ अर्घाखाँचीको धारापानी गाविसमा । अर्घाखाँची धारापानीकी चन्द्रकला बन्जाडे जिवितै छिन तर उनको नाममा मृत्‍युदर्ता भएको छ । मृत्‍युदर्ता गाविसमा भए पछी पनि उनलाई नेपाली नागरिकता परिचय पत्र पनि दिईएको छ । कस्तो प्रशासन अनुमान गर्नुस् । हुनत सत्य कुरा बाहिर आउँदा पत्तिंकार र संचार सस्थालाई ज्यानमार्ने धम्की समेत नआउने होइनन तर पनि यो पत्तिंकारले जोखिम मोलेर यो समाचार तयार पारेको हो ।



सबै विवरण पढ्नुहोश :



बुटवलका एक बहालवाला सरकारी कर्मचारीले आफ्नी जिउदी श्रीमतीको मृत्युदर्ता प्रमाणपत्र बनाएको रहस्य खुलेको छ । आफ्ना तीन श्रीमतीमध्ये माइलीलाई उनले जिउदो छदै मरेको प्रमाणित गरेका हुन् ।



हेभी इक्विपमेन्ट डिभिजन कार्यालय बुटवलमा सरुवा भएका पश्चिमाञ्चल राजश्व कार्यालय बटवलका लेखापाल कृष्णकुमार बन्जाडेले यस्तो गरेको रहस्य खुलेको छ । दुई महिना अघि डिभिजन कार्यालयमा सरुवा भएको भएपनि उनी पुरानै कार्यालयमा बस्न राजनीतिक लविङ गरिरहेको र नयां कार्यालयमा नगएको कार्यालय स्रोतले बताएको छ । उनले आफ्नी श्रीमती चन्द्रकला थापा बन्जाडेको मृत्युदर्ता प्रमाणपत्र २०६५ सालमा बनाएका थिए । यता चन्द्रकलाले २०६७ सालमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएको छ ।



बन्जाडेले अर्घाखाँची जिल्लाको धारापानी गाविसबाट चन्द्रकलालाई मृतक भनी सरकारी कागजात बनाएका खुलेको छ । बन्जाडेले दिएको निवेदनका आधारमा गाविसले सत्यतथ्य नबुझी मृत्युदर्ताको प्रमाणपत्र दिएको पाइएको छ । २०६५ साल मंसिर २ गते जारी प्रमाणपत्रमा गाविस सचिव जीवनारायण चुदालीको हस्ताक्षर रहेको छ ।



प्रमाणपत्रको दर्ता नं ७ मा पारिवारिक लगत फारम नं. ४० मा लेखिएको छ, ‘यस कार्यालयमा खडा गरिएको मृत्युदर्ता किताबअनुसार प्रमाणित गरिन्छ कि सूचक श्री कृष्ण बन्जाडेले भरेको अनुसूची ३ को सूचना फारमबमोजिम श्री जुद्धबहादुर थापाको नाती श्री डम्बरबहादुर थापाको छोरा कृष्ण बन्जाडेकी श्रीमती अर्घाखाँची जिल्ला धारापानी गाविस वडा नं. ९ मा बस्ने वर्ष ३२ की चन्द्रकला थापा बन्जाडेको मिति २०६०।१२।०७ गते म्याग्दीमा मृत्यु भएको हो ।’

 

गाविसद्धारा ०६० सालमै मृत घोषति चन्द्रकलाले ७ वर्षपछि नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट २०६७ चैत्र १६ गतेको मितिमा सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले नेपाली नागरिक भएको प्रमाणित गर्दै नागारिकताको प्रमाणपत्र दिएका छन् । उनको नागरिकता प्रमाणपत्र नं. ४० -१०१९र १३८७ रहेको छ ।



गाविस सचिव चुदालीले भने मृत्यु दर्ताको प्रमाणपत्र आफूले नबनाएको दाबी गरे । उनले भने, ‘म कृष्ण बन्जाडे र चन्द्रकला बन्जाडेलाई राम्रोसग चिन्छु । उहाहरुको पहिलेदेखि नै पारिवारिक कलह थियो । चन्द्रकला अहिले बुटवलतिर हुनुहुन्छ रे , मैले दिएको प्रमाणपत्र होइन त्यो । यो सरासर गाविसको लेटरप्याड र छाप तथा मेरो हस्ताक्षरमा जालसाझी गरिएको हो ।’बन्जाडेले चन्द्रकलालाई माइली श्रीमतीका रुपमा मागेरै बिहे गरेको बुझएिको छ ।

 

यसबारे बन्जाडेलाई सम्पर्क गर्न खोज्दा संपर्क हुन सकेन । उनको फोन पटक-पटकको प्रयासमा पनि उठेन ।



यता चन्द्रकला भने रुपन्देहीको शंकरनगर गाविस वडा नं. ५ मा एउटा ओत लाग्ने टहरो बनाएर बसिरहेकी उनले आफ्नो दैनिक गुजारा ज्यालामजदुरी र मेलापर्वबाट चलेको बताइन् । आफूलाई मृत्यु भएको प्रमाण पत्र बनाएको भन्ने सुन्दा उनले अचम्म लागेको बताइन् । बन्जाडेको यातना सहन नसकेपछि एक छोरीको भविश्य सोंचेर आफूले घर छोडेर हिंडेको उनले बताइन् । ज्याला मजदुरीबाट पाएको धेरथोर पैसाले छोराछोरी सानी छोरी र आफ्नो जीवन चलाइरहेको उनले बताइन् ।



बन्जाडे भने बुटवल नगरपालिका वडा नं. १४ मा कान्छी श्रीमतीसगं बस्छन् ।






Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।


अन्य समाचारहरु