सत्तारुढ गठबन्धनले चुनावका लागि दबाब दिने उद्देश्यले विभिन्न पाँच ठाउँमा आमसभा गर्ने

काठमाडौ । सत्तारुढ घटकहरूको संयुक्त गठबन्धन सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चाले चुनावका लागि दबाब दिने उद्देश्यले देशका विभिन्न पाँच सहरहरूमा सभा गर्ने भएको छ ।

 

मोर्चाको आज बिहान राजधानीको नयाँ बानेश्वरमा बसेको बैठकले यस्तो निर्णय गरेको समाजवादी जनता पार्टीका अध्यक्ष तथा मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार मोर्चाले यही असोज १७ गते विराटनगरमा, १९ गते जनकपुरमा, २१ गते नेपालगन्जमा सभा गर्ने भएको छ । यसैगरी असोज २३ गते पोखरामा र अन्तमा असोज २६ गते राजधानीमा आमसभा गर्ने निर्णय भएको छ ।

 

त्यसैगरी  संयुक्त सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठकले राष्ट्रिय सहमति कायम गरी निर्वाचनमा जानका लागि वार्ता प्रक्रियालाई अगाडि बढाउने निर्णय पनि गरेको छ ।

    बैठकले मुलुकको राजनीतिक अन्योलको निकासका लागि राष्ट्रिय सहमतिबाट अघि बढ्न वार्ता र छलफललाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको गठबन्धनका प्रवक्ता सिहंले बताउनुभयो ।


गठबन्धनमा एमाओवादी, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, फोरम (गणतान्त्रिक), सङ्घीय सदभावना पार्टी, तमलोपा नेपाललगायत सरकारमा सहभागी र सरकार बाहिरका दलहरु आबद्ध रहेका छन् ।


    बैठकमा एमाओवादीका उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराई, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, फोरम, गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, सद्भावनाका अध्यक्ष राजेन्द्र महतोलगायतका पार्टी अध्यक्षको सहभागिता रहेको थियो ।

– RSS