अर्को सातादेखि देशका प्रमुख शहरहरुमा सत्ताधारी गठबन्धनको आमसभा गर्ने घोषणाको विपक्षी दलहरुद्धारा कडा आलोचना

अर्को सातादेखि आफ्नो पक्षमा जनमत तयार गर्न देशका प्रमुख शहरहरुमा आमसभाहरु गर्ने सत्ताधारी दलहरु सहभागी गठबन्धनको निर्णयले विपक्षी दलको कडा आलोचना निम्त्याएको छ।


नयाँ सरकार र नयाँ चुनावको मार्गचित्रबारे दलहरुले विषय प्रवेश नै नगरेको अवस्थामा शनिबार एकीकृत माओवादी र मधेसी मोर्चा सहभागी गठबन्धनले अर्को सातादेखि प्रमुख शहरहरुमा संयुक्त आमसभा गर्ने घोषणा गरेको हो।


तर ती सभामार्फत जन समर्थन बटुल्ने गठबन्धनको निर्णयले सहमतिको वातावरण विथोल्ने टिप्पणी एक विपक्षी नेताले गरेका छन्।


विपक्षी दलहरुले सहमति र निकासको प्रस्थान बिन्दु भनेको राष्ट्रिय सहमतिको सरकारबारे दलहरुबीच बिमती कायमै रहेको बेला एकीकृत माओवादी, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका दलहरुको गठबन्धनले अर्को सातादेखि देशका पाँच प्रमुख शहरहरुमा संयुक्त आमसभा गर्ने निर्णय शनिबार सार्वजनिक गरेको हो।

तर दलहरुबीचको वार्तामा सक्रिय नेकपा एमालेका एक नेता भीम रावलले संयुक्त संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको पछिल्लो निर्णयको कडा आलोचना गरे।