पैगम्बर मोहम्मदलाई अपमान गरी अमेरिकामा निर्माण गरिएको चलचित्रको विरोधमा वंगलादेशमा प्रदर्शन

पैगम्बर मोहम्मदलाई अपमान गरी अमेरिकामा निर्माण गरिएको चलचित्रको विरोधमा वंगलादेशमा पनि प्रदर्शन भएको छ । प्रदर्शनकारीले हिजो आफूहरुको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको विरोधमा आज देशव्यापी आमहड्तालको आह्वान गरेका छन् ।

 

शुक्रबार करिब दुई हजार मुस्लिमले अमेरिकी राष्ट्रपति बाराक ओबामाको पुत्ला कफिनमा राखेर अमेरिकी झन्डासहित जलाएका थिए । चलचित्रको विरोधमा बंगलादेशको राजधानी ढाकामा निस्केको -यालिका क्रममा मुस्लिम प्रदहर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीलाई ढुंगा प्रहार गर्ने प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास तथा लाठी प्रहार गरेको थियो । उनीहरु दर्जनौं इस्लामिक संगठनको आह्वानमा प्रदर्शनमा सहभागी भएको ढाका महानगरीय प्रहरीका एकजना अधिकारीले जनाएका छन् ।

पाकिस्तानका विभिन्न शहरहरुमा चलचित्रलाई लिएर भएको विरोध प्रदर्शनमा कम्तिमा २३ जना व्यक्तिले ज्यान गुमाएका छन् । पाकिस्तानका रेलमन्त्री गुलाम अहमद बालोरले उक्त चलचित्र निर्माताको हत्या गर्नेलाई १ लाख डलर पुरस्कार दिने घोषणा समेत गरेका छन् । उक्त पुरस्कार उनले आफ्नै खल्तीवाट दिने वताएका छन् ।

 

अहमदले तालिवान र अलकायदालाई ती चलचित्र निर्माता वसेको स्थान पत्ता लगाई सहयोग तथा हत्या गर्ने दायित्व पूरा गर्न आग्रह गरेका हुन् । पाकिस्तानको राजधानी इस्लामावाद तथा अन्य दुई ठूला शहर कराँची र पेसावरमा गत चार दिनदेखि जारी विरोध प्रदर्शनमा कम्तीमा पनि २३ जनाको मृत्यु भइसकेको छ । विरोध प्रदर्शनमा करिव ५ हजार नागरिक सहभागी रहेको र उनीहरुले राजधानीस्थित संसद भवनवाहिर अमेरिका विरुद्ध नारावाजी गरेका थिए ।

 

– Agencies