उपप्रधानमन्त्री श्रेष्ठलाई अमेरिकामा कालोझण्डा

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई अमेरिकामा कालोझण्डा देखाइएको छ ।

न्यूयोर्कमा भएको एक कार्यक्रममा श्रेष्ठलाई कांग्रेस कार्यकर्ताहरुले कालोझण्डा देखाएका हुन् । कांग्रेस सर्मथित कराँते खेलाडी मकेन्द्र सिंहले कालो झण्डासहित नाराजाबी गरेका थिए ।

उनीहरुले भट्टराई सरकार अवैधानिक रहेको र तुरुन्त सरकारले राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार गठनको माग गरे ।  उत्तर अमेरिकाका लागि नेपाली कांग्रेस प्रतिनिधि मुदुला कोइराला, वंशलाल तामाङसहितका कांग्रेसीहरुले विरोध गरेका हुन् । ज्ञापनपत्र पढेर सुनाउने प्रत्यन्न गरे पनि आयोजकहरुको विरोधका कारण कोइरालाले विरोध पत्र श्रेष्ठलाई amुभाइन् ।

अमेरिकामा बसोबास गर्ने नेपाली कांग्रेसका सर्मथक तथा शुभेच्छुकहरुको सो पत्रमा माओवादी नेतृत्वको सरकारले निरङ्कुशता लाद्न खोजेको आरोप लगाइएको छ ।  

‘दोहोरो नागरिकताबारे ठोस निर्णय हुन्छ’

कार्यक्रममा उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठले दोहोरो नागरिकता सम्बन्धी गैरआवसीय नेपालीहरुको एकसुत्रीय मागको सम्बन्धमा उचित समयमा ठोस कदम चालिने बताए ।

नागरिकताको निरन्तरता सम्बन्धी प्रवासी नेपालीहरुको भावनामा आफ्नो सर्मथन रहेको उल्लेख गर्दै भने, ‘नागरिकता सम्बन्धी संविधानको व्यवस्था सरकारको एकल निर्णयबाट सम्भव नहुने भएकोले ठोस निर्णयका लागि सबै राजनितीक पार्टीहरुको सहमति र सहकार्य जरुरी छ । यसप्रति सबै सकारात्मक छन् ।’   

राष्ट्र संघको ६७ औं महासभाको व्यस्त तालिकामाझ आदिवासी जनजाती महासंघ, अमेरिका, एनआरएन, हिमाली समुदाय, एन्टा र युएनडिएफको संयुक्त कार्यक्रममा उपस्थित भएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा संघीयता र पहिचान बिना संविधान बन्नै नसक्ने तर्क राखेका थिए ।

तिब्बती शरणार्थीहरुको सम्बन्धमा सोधिएको प्रश्नमा श्रेष्ठले मानवीय रुपमा शरणार्थीहरुलाई सहयोग गरिएको बताए । उनको भनाई थियो, ‘शरणार्थीहरुले राज्यको कानुनी परिधिभित्र बस्नुपर्छ । मित्र राष्ट्रहरु विरुद्व लाग्न कसैलाई छुट छैन् ।’

कार्यक्रममा ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष एवं एक सय भन्दा बढी पटक  रक्तदान गरेका अर्जुन मैनालीले उपप्रधानमन्त्री श्रेष्ठलाई एक हजार पाँच सय अमेरिकी डलर हस्तान्तरण गरेका थिए ।

गत महिना नेपाल सरकारको घोषित  देशका दुर्गम २६ जिल्लामा गर्भवती र सुत्केरी महिलालाई रेडक्रससँग मिलेर निशुल्क रगत उपलब्ध गराउने कार्यक्रममा सहयोगस्वरुप मैनालीले सो रकम सरकारलाई उपलब्ध गराएका हुन् ।

Source:Ekantipur.Com