यो वर्ष पनि कोकाकोला संसारकै उत्कृष्ट ब्रान्डहरूको सूचीमा

संसारकै उत्कृष्ट ब्रान्डहरूको सूचीमा संसारकै उत्कृष्ट ब्रान्डहरूको सूचीमा यो वर्ष पनि कोकाकोला पहिलो स्थानमा आएको छ। कोकाकोला यो सूचीमा लगातार १२ वर्षदेखि एक नम्बरमा पर्दै आएको छ। इन्टरब्रान्डले तयार पारेको १३औं वार्षिक प्रतिवेदनले वित्तीय क्षमता, ब्रान्डले उपभोक्ताको छनोटमा खेल्ने भूमिकालगायत बुँदामा आधारित भई सन् २०१२ का लागि तयार पारेको उत्कृष्ट १ सय ब्रान्डको सूचीमा कोकाकोला एक नम्बरमा आएको हो।

१. कोकाकोला (ब्रान्ड मूल्य ७७ अर्ब ८३ करोड ९० लाख डलर)
२. एप्पल (ब्रान्ड मूल्य ७६ अर्ब ५६ करोड ८० लाख डलर)
३. आइबिएम (ब्रान्ड मूल्य ७५ अर्ब ५३ करोड २० लाख डलर)
४. गुगल (ब्रान्ड मूल्य ६९ अर्ब ७२ करोड ६० लाख डलर)
५. माइक्रोसफ्ट (ब्रान्ड मूल्य ५७ अर्ब ८५ करोड ३० लाख डलर)


 


अमेरिकाको ओम्नीकम ग्रुपद्वारा सञ्चालित ब्रान्ड कन्सल्टिङ कम्पनी इन्टरब्रान्डले तयार पारेको ‘बेस्ट ग्लोबल ब्रान्ड्स’ प्रतिवेदनमा कोकाकोला एक नम्बरमा परेको हो। दुई दिनअघि सार्वजनिक गरिएको प्रतिवेदनले शक्तिशाली ब्रान्डका मूल्यसँगै मूल्य ओरालो लागिरहेका ब्रान्डका समस्याबारे खुलेर चर्चा गरेको छ।
इन्टरब्रान्डले तयार पारेको १३औं वार्षिक प्रतिवेदनले वित्तीय क्षमता, ब्रान्डले उपभोक्ताको छनोटमा खेल्ने भूमिकालगायत बुँदामा आधारित भई सन् २०१२ का लागि उत्कृष्ट १ सय ब्रान्डको सूची तयार पारेको हो।
प्रतिवेदनले कोकाकोलाको ब्रान्ड मूल्य ७७ अर्ब ८३ करोड ९० लाख अमेरिकी डलर (६४ खर्ब ६० अर्ब ६३ करोड ७० लाख रुपैयाँ) अनुमान गरेको छ। यो मूल्य सन् २०११ को भन्दा आठ प्रतिशतले बढी हो। गत वर्षको सूचीमा पनि कोकाकोला एक नम्बरमै रहेको थियो।
‘तेह्र वर्षसम्म निरन्तर संसारकै एक नम्बरको ब्रान्ड हुन पाउँदा औधी गर्व लागेको छ,’ कोकाकोलाका कार्यकारी उपाध्यक्ष, बजार प्रमुख तथा कमर्सियल अफिसर जोसेफ भि ट्राइपोडीले भने, ‘विज्ञापनले हाम्रो ब्रान्डको प्रभावकारिता वृद्धि गर्न ठूलो सहयोग गरेको छ। सन् २००८ मा ९५ अर्ब डलर आम्दानी गरेका थियौं, यो बढेर २०२० सम्म २ खर्ब डलर पुग्ने अनुमान छ।’
उनका अनुसार उपभोक्तासँग कसरी सधैं नजिक रहने भनेर कोकाकोलाले नयाँ-नयाँ अवधारणा ल्याइरहेको छ। पछिल्लो पटक सामाजिक सञ्जाल फेसबुकमा कोकाकोला ब्रान्डलाई सार्वजनिक गर्दा ५ करोड १९ लाख ८० हजारजनाले ‘लाइक’ गरेका थिए। यो अन्य ब्रान्डभन्दा धेरै बढी हो। ‘जोखिम मोल्न र नयाँ प्रयोग गर्न डराउनु हुन्न,’ उनले भने, ‘तपाईं जे बेच्नुहुन्छ, त्योभन्दा ब्रान्ड र कम्पनीको अवस्थामा ध्यान दिनुपर्छ।’
इन्टरब्रान्डका अनुसार सूचीका उत्कृष्ट १० भित्र परेका ९ मध्ये ८ ब्रान्ड गत वर्षको दाँजोमा माथि आएका छन्। दुईवटा १० बाट बाहिरिएका छन्। गत वर्ष ८ नम्बरमा परेको एप्पल यसपालि दोस्रो स्थानमा आइपुगेको छ। एप्पलको ब्रान्ड मूल्य ७६ अर्ब ५६ करोड ८० लाख डलर (६३ खर्ब ५५ अर्ब १४ करोड ४० लाख रुपैयाँ) रहेको छ। यो मूल्य गत वर्षभन्दा १ सय २९ प्रतिशतले बढी हो।
तेस्रो स्थानमा आएको आइबिएमको ब्रान्ड मूल्य ८ प्रतिशतले बढेर ७५ अर्ब ५३ करोड २० लाख डलर पुगेकेा छ। चौथो नम्बरमा परेको गुगलको ब्रान्ड मूल्य २६ प्रतिशतले बढेर यसपालि ६९ अर्ब ७२ करोड ६० लाख डलर भएको छ।
पाँचौं स्थान लिन सफल भए पनि माइक्रोसफ्टको ब्रान्ड मूल्य २ प्रतिशतले घटेर ५७ अर्ब ८५ करोड ३० लाख डलरमा अडेको छ। छैठौंमा जिई वर्क्स परेको छ। यसको ब्रान्ड मूल्य २ प्रतिशतले वृद्धि भई ४३ अर्ब ६८ करोड २० लाख डलर भएको छ। सातौंमा परेको मेकडोनाल्डको ब्रान्ड मूल्य १३ प्रतिशतले बढेर ४० अर्ब ६२ करोड डलर पुगेको छ।
इन्टेल आठौं नम्बरमा परेको छ। १२ प्रतिशतले ब्रान्ड मूल्य बढेर ३९ अर्ब ३८ करोडा ५० लाख डलर पुगेको छ। नवौंमा परेको सामसङको ब्रान्ड मूल्य ३२ अर्ब ८९ करोड ३० लाख डलर भएको छ। यो गत वर्षभन्दा ४० प्रतिशतले बढी हो। त्यसै गरी दसौं नम्बरमा टोयोटा परेको छ। यसको ब्रान्ड मूल्य ९ प्रतिशतले बढेर ३० अर्ब २८ करोड डलर पुगेको छ।
त्यसपछि क्रमशः मर्सिडिज बेन्ज, बिएमडब्लु, डिज्नी, सिस्को, एचपी, जिलेट, लुइस भुइट्टन, ओराकल, नोकिया, अमेजन, होन्डा, पेप्सी, एचएन्ड एम, अमेरिकन एक्सप्रेस, एसएपी, नाइकी, युपिएस, आइकेइए, केल्लोग्स, क्यानन, बडवाइजर, जेपी मोर्गान, एचएसबिसी, प्याम्पर, नेस्क्याफे, इबे, जारालगायत छन्।
इन्टरब्रान्डले न्युयोर्कमा जारी ‘विज्ञापन सप्ताह २०१२’ मा यो प्रतिवेदन सार्वजनिक गरेको हो। ब्रान्डलाई विश्वव्यापी बनाउन विज्ञापन एजेन्सीहरूले कस्तो भूमिका खेल्छन् भन्नेबारे सप्ताहभर छलफल हुनेछ। विज्ञापन निर्माता एजेन्सीहरूले कम्पनीको व्यापार र सेवामा बलियो र सकारात्मक प्रभाव पार्ने गरी विज्ञापन बनाउने गरेको बताएका थिए।
क्यारिबोऊ कफी कम्पनीको सेयर मूल्य विज्ञापनमार्फत् बजार जानुअघि प्रतिकित्ता १.१७ डलर रहेकोमा एजेन्सीले विज्ञापन बनाएर बजार गएपछि सेयर भाउ बढेर प्रतिकित्ता १८ डलर पुगेको उदाहरण उनीहरूले दिएका थिए। तै पनि यसपालिको सूचीमा क्यारिबोऊ कफी पर्न सकेन।

 

Source:Nagarik