काठमाडौं – नेपालको राष्ट्रिय दैनिक कान्तिपुरले प्रकासित समाचार अनुसार प्रतिपक्षी नेपाली कांग्रेस- नेकपा एमालेले संविधानसभा पुनःस्थापनाको सम्भावना अस्वीकार गर्दैर् निर्वाचनको प्रक्रियामा सहमतिका लागि एमाओवादीसहित दलहरूसँग छलफल गर्ने रणनीति तय गरेका छन् ।
निर्वाचनमा जाने सैद्धान्तिक सहमतिपछि पनि एमाओवादीले पुनःस्थापनाको विकल्प दोहोर्याइरहेका बेला बुधबार प्रतिपक्षी दलहरूले जनादेशको प्रक्रियामा लाग्ने निर्णय गरेका हुन् । राजनीतिक गतिरोध अन्त्यका लागि राष्ट्रपति रामवरण यादवसूगको सर्वदलीय बैठकका पनि उनीहरूले साझा धारणा राख्ने छन् । यसकै गृहकार्यका लागि नयाँ बानेश्वरको मसला कटेजमा दुई दलबीच शीर्ष तहमा छलफल भएको हो ।
‘एमाओवादीको भूलभुलैयामा एमाले- कांग्रेस पर्नु हुँदैन,’ एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने, ‘चुनावमा नगई उपाय छैन । यो पुनःस्थापनाको कुरा गर्ने मौसम होइन ।’ संविधानका विषयवस्तुमा कहींकतै सहमति नभएको उल्लेख गर्दै नेपालले असहमति र असहमतिका बुूदा तयार गरी छलफल गर्न सकिने बताए । ‘त्यो भविष्यका लागि पनि उपयोगी हुन सक्छ,’ उनले भने ।
बैठकमा पुनःस्थापना पक्षधर कांग्रेस नेता रामचन्द्र पौडेल पनि उपस्थित थिए । एमाओवादीले सत्ता लम्ब्याउने रणनीतिक चालका रूपमा मात्र पुनःस्थापनाको प्रस्ताव अघि सारेको उल्लेख गर्दै पौडेलले पनि आन्दोलनको विकल्प नभएकोमा जोड दिएका थिए । ‘खालि संविधानका विषयवस्तुमा सहमति भयो भने पुनःस्थापना पनि विकल्प हुन सक्छ भन्नेसम्म मात्र उहाँको धारणा हो,’ कांग्रेस नेता रामशरण महतले भने, ‘पुनःस्थापनाको आधार पनि छैन, त्यसप्रति एमाओवादी इमान्दार पनि छैन ।’ गतिरोध निकासको बाटो निर्वाचन मात्र रहेको उल्लेख गर्दै उनले राष्ट्रिय सरकार गठनबाट सहमतिको प्रक्रिया सुरु हुनुपर्ने महतले बताए । ‘छलफलको निचोड निर्वाचनमा जानुपर्छ र नयाँ सरकार बनाऔं भन्ने हो,’ महतले भने ।