नेकपा-माओवादीका १५१ जना पुनः ए माओवादीमा फर्के

काठमाडौँ  – मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीका सेती महाकाली सचिवालय सदस्य सहदेव बोगटी, सुरेश रोकाय, रमेशराज विकसहित राज्य समिति तथा जिल्ला कमिटीका १५१ जना सदस्य पुनः एनेकपा (माओवादी)मा फर्केका छन्। 


सचिवालय सदस्य बोगटीसहित १५१ जनाद्वारा आज जारी संयुक्त विज्ञप्तिमा नेकपा-माओवादीको वर्तमान नेतृत्वमा चरम सङ्किणता, पूर्वाग्रही, सङ्घर्ष निषेधात्मक रहेको भन्दै उनीहरुले पुनः माउ पार्टीमै फर्केको जनाएका हुन्।

उनीहरुले आज संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यद्वारा उठाइएका क्रान्तिका चिन्ता, कार्यकर्ताको व्यवस्थापन, स्वाधीनताको चिन्ता र एकल सङ्घर्षका विषय ठीक नभएको भन्दै पुनः संस्थापनमै फर्केको उल्लेख गरिएको छ।


उनीहरुले एकताबद्ध शक्तिले मात्रै जनयुद्धको मूल्य मान्यताको रक्षा, स्वाधीनताको रक्षा, सहिदका सापना र जनआकाङ्क्षा पूरा गर्न पार्टी पुनः एकीकरण हुनुपर्नेमासमेत जोड दिएका छन्। रासस