राजधानीको नयाँसडक, सुन्धारा, पुतलीसडक, बानेश्वर, पाटनलगायत बजारमा देखिने उपभोक्ताको हात खाली छैन । भृृकुटीमण्डप, खसीबजार भेडा, बोका र च्याङ्ग्राले भरिएको छ । गाउँ जाने पनि राजधानीदेखि खसी/बोका खरिद गरिरहेका छन् । राजधानीसहित मोफसलका सहरहरूमा ठूला व्यापारिक कम्प्लेक्स खुले पनि सामान्य र सस्तो सामान किनबेच हुने क्षेत्रका उपभोक्ताको चहलपहल घटेको छैन ।
किनमेलमा भेटिएकाहरू हतारमा देखिन्छन् । फेसनेबल कपडा र पहिरनका सामानसँगै बजारमा मनोरञ्जनका सामानको खपत पनि बढेको छ । आफन्त र नातेदारलाई उपहार दिन सजिलो र सहज हुने भएकाले मोबाइलको खपत ह्वात्तै बढेको छ । न्युरोड, सुन्धारालगायत आसपासका व्यवसायीका अनुसार दसंै लागेपछि नयाँ डिजाइनको सामानको खोजीमा सबै छन् । ‘सबैले नयाँ डिजाइन देखाउनुस् भन्छन्,’ भोटाहिटीका व्यापारी सुन्दर खड्काले भने, ‘किन्नेभन्दा हेर्ने बढी छन् ।’ मध्यमवर्गको रोजाइमा पर्ने पसलहरूमा पनि घुइँचो छ । ‘अझै दुई दिन यत्तिकै भीड होला जस्तो छ,’ उनले भने, ‘अनि विस्तारै चाप घट्छ ।’
शुक्रबारसम्म बाहिरी जिल्ला जाने सर्वसाधारणले किनमेल गरिसक्ने व्यापारीहरूको अनुमान छ । आइतबार फूलपातीदेखि दसैं बिदा सुरु हुन्छ । समाजशास्त्रीहरू भने दसैंमा किनमेलको शैली पनि बदलिंदै गएको बताउँछन् । रेमिटेन्सले धानेको अर्थतन्त्र, विश्वव्यापीकरण लगायतका कारण समाज बदलिएको र किनमेलमा समेत त्यसको प्रभाव परेको उनीहरूको धारणा छ ।
पढाइ, जागिर, व्यापार वा अरू कुनै त्यस्तो कारणले वर्षभरि यहाँ बसेर यतिखेर उनीहरू आफ्नै गाउँमा दुःख/सुख सुनाउन गइरहेका छन् । काठमाडौंमा आएर जति नै प्रगति गरे पनि बाहिरबाट आएकाहरू दसैंमा भने आफ्नै थातथलोमा गएर रम्न रुचाउँछन् । त्यसैले घटस्थापना लागेदेखि नै काठमाडौं छाड्नेहरूको लर्को छ । उडेर र गुडेर जानेहरूको ताँती बसपार्क र विमानस्थल दुवैतिर ठूलो छ । हवाई र सवारी साधनको टिकट पाउन मुस्किल त छँदैछ । सवारी साधनमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सरोज सिटौलाले दसैंमा मात्र करिब २० लाख मानिस बाहिरिने गरेको बताए । ‘राजधानीवासीका साथै दसैंका लागि विदेशबाट आउनेको भीड हुन्छ,’ उनले भने । उनका अनुसार यात्रुले औसतमा ७ सय रुपैयाँ टिकटमा खर्च गर्छन् । यस आधारमा टिकटका लागि मात्र करिब ३ अर्ब रुपैयाँको कारोबार हुन्छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख गणेशराज राईका अनुसार थानकोट, जगातीलगायत अन्य नाकाबाट १ हजार ८ सय ८६ सवारी बाहिरिएका छन् । यसमा सरदर ३० राख्दा बुधबारमात्रै करिब ५७ हजार सर्वसाधारण राजधानीबाट बाहिरिएका छन् । उपत्यका नजिकका रुटमा चल्ने माइक्रोबसमा समेत यात्रुको भीड छ । हवाई यात्राको टिकटसमेत पाउन मुस्किल रहेको व्यवसायीले बताएका छन् ।