आगामी चैत बैशाखसम्ममा जसरी पनि निर्वाचन गरिने प्रधानमन्त्री भट्टराईको भनाइ

काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी चैत बैशाखसम्ममा जसरी पनि निर्वाचन गरिने बताएका छन् । दलहरुबीच सहमति बने संविधानसभाको पुनःस्थापनामार्फत् संविधान बनाई नयाँ संसदको चुनाव गरिने नभए संविधानसभाको नयाँ निर्वाचन हुने उनको भनाइ छ ।

 

दशैंको अवसरमा रिपोर्टर्स क्लबले काठमाडौंमा गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहमा प्रधानमन्त्रीले सरकार चुनावमा जान तयार रहेको दोहो-याए ।

 
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले भने सरकार केवल सत्ता लम्ब्याउने खेलमा मात्र रहेको टिप्पणी गर्दै सरकार राष्ट्रिय सहमतितर्फ जानै नचाहेको आरोप लगाए ।

 
नेपाली कांग्रेस नेता शेरबहादुर देउवाले अप्ठेरोमा फस्नुभन्दा संविधान घोषणा गर्न एक दिनका लागि मात्रै भएपनि संविधानसभा पुनःस्थापना गर्नु राम्रो हुने भएपनि त्यसमा सहमति जुट्ने छाँटकाँट नदेखिएको बताए ।

 
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले राजनीतिक दलहरुले नचाहेकैले वर्तमान राजनीतिक संकट लम्बिएको बताए ।

 
चियापानमा विभिन्न दलका नेता, नागरिक समाजका व्यक्तिहरु, पत्रकार, वकिल, कर्मचारीलगायतको सहभागिता थियो ।


RSS