आज हिन्दूहरुको महान् चाड बडा दशैंको आठौं दिन महाअष्टमी, मुलुकभर दुर्गाभवानीको पूजा आराधना गरी मनाइँदै


हिन्दूहरुको महान् चाड बडा दशैंको आज आठौँ दिन महाअष्टमी मुलुकभर दुर्गाभवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ ।

देशभरिका दसैं घरमा आज केराको पातमा चामलको ९ थुप्रा लगाएर त्यसमा जनै सुपारी नैवेद्य तथा भेटी राखेर नवदुर्गाको पूजा आजा गर्ने चलन छ ।


साथै आजै आफूले प्रयोग गर्ने फलामका औजारहरु खुकुरी तरबार खड्गहरुलाई पनि दसैं घरमा राखेर पुजाआजा गर्ने गरिन्छ ।
 
आजै  बेलुका घरघरमा शक्तिस्वरुपा महाकालीको विशेष पूजा आराधना गरेर कालरात्री गरिन्छ । शक्ति स्वरुपा महाकालीकै आराधना र पूजाका लागि भरे बेलुका देशभरिका सेनाका गण गुल्म तथा कोट र पुराना दरबारहरुमा कालरात्री गर्ने चलन छ ।

 

कालरात्रीमा काठमाडौं वसन्तपुरको कोतघरमा ५४ राँगा तथा बोकाको बलि दिने चलन छ । मध्यरातमा गरिने विशेष पूजाबाट देवी खुशी भएर शत्रुनाश गर्छिन् भन्ने जनविश्वास छ । दसैंमा आफन्तसँग बसेर मासु खान मन पराउनेहरुले आज आफ्नो घरको आँगन तथा दैलोमा खसी राँगोलगायतका पशु मार हान्छन् । दसैंका लागि भोलि पनि मासुका लागि बलि दिने चलन छ ।
 
त्यस्तै आज महाअष्टमीका अवसरमा देशभरिका महाकाली महालक्ष्मी र महासरस्वती देवीका मन्दिरहरुमा विशेष भीड लागेको छ । काठमाडौंका दक्षिणकाली गुह्येश्वरी बज्रबाराही सङ्कटा बङ्गलामुखीलगायतका शक्तिपीठहरुमा पूजा गर्ने तथा पशुबलि दिनेहरुको घुइँचो छ । त्यस्तै काभ्रेको पलााचोक भगवती गोरखाको गोरखकाली तथा मनकामना सप्तरी सखडा-छिन्नमस्ता नुवाकोट भैरवी डोटीको शैलेश्वरी धरानको दन्तकाली भोजपूरको सिद्धकालीलगायतका मन्दिरहरुमा दर्शनार्थीको घुइँचो छ । देशभरिका हिन्दूहरुले आज घर आसपासका स्थानीय देवी मन्दिरहरुमा पनि दसैंको भाकल पूजा गर्दैछन् ।
 
यसैगरी राष्ट्र प्रमुखका हैसियतले राष्ट्रपति डा. रामवरण यादवले आज राजधानीको शोभाभगवती नक्सालभगवती जयबागेश्वरी गुह्येश्वरीलगायतका शक्तिपीठहरुमा पुगेर पूजापाठ गर्नुहुने कार्यक्रम छ ।