इटालीमा पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीलाई कर छलेको अभियोगमा चार वर्षको जेलसजाय

इटालीको अदालतले पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीलाई कर छलेको अभियोगमा चार वर्षको जेलसजाय हुने फैसला सुनाएको छ ।

 

उनीसहित अन्य केहीमाथि अमेरिकी फिल्म प्रदर्शन खरिद गर्दा कर छल्न आफ्नो नियन्त्रणका दुई अन्य कम्पनी प्रयोग गरेको अभियोग लगाइएको थियो ।

 

व्यावसयिक कारोबारका क्रममा उनी माथि अदालतमा थुप्रै मुद्दा चलेका छन् । गत साल नोभेम्बरमा प्रधानमन्त्रीबाट पदमुक्त उनीमाथि ६ बर्षदेखि यो मुद्धा चल्दै आएको थियो । उनी थुप्रै यौन काण्डमा पनि मुछिएका छन् । उनीमाथि फिल्म प्रदर्शन अधिकार खरिदका लागि छुटयाइको रकमबाट अवान्छित क्रियाकलापका लागि अवैध कोष खडा गरी कर दायित्व घटाएको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो ।

 

अभियोजनकर्ताले उनलाई कर ठगीमा तीन वर्ष आठ महिना जेल सजायको माग गरेकोमा अदालतले चार वर्ष जेल सजायको फैसला गरेको हो । अदालतले उनलाई कुनै सरकारी वा सार्वजनिक पदधारण गर्नसमेत नपाउने फैसला गरेको छ । उनले फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने अपेक्षा गरिएको छ ।

 

बर्लुस्कोनी ईटलीको राजनीतिमा २० बर्षदेखि क्रियाशील छन् ।

 

– Agencies